चन्द्रागिरी नगरपालिकाका १७ स्थानमा तीन दिन दैनिक साढे तीन घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै यसको जानकारी दिएको हो।
कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट र सतुंगल फिडरमा यो अवरोध हुनेछ। स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ के.भी. लाइनमा रहेको पुरानो तार बदली गर्नका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
जेठ २९, ३० र ३१ गते बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ।
थानकोट फिडरअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ को कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी, पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राईट फ्युचर, बाईछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास, श्रृजना चोक क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।
सतुंगल फिडरअन्तर्गत धौलागिरी गेट आसपास, सिंचाफाँट, शिबमन्दिर आसपासका क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुनेछ।
