दैलेखको ठाटीकाँध गाउँपालिकाका ९७ शिक्षक तथा कर्मचारीले एक वर्षदेखि पारिश्रमिक नपाएपछि बुधबारदेखि पालिकाभरका ३९ सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारिएको छ।
गाउँपालिका अनुदान शिक्षक संघर्ष समितिका सचिव रविलाल देवकोटाका अनुसार, पटक–पटक सम्झौता र सहमति गर्दा पनि पारिश्रमिक नदिइएपछि आन्दोलनस्वरुप विद्यालय बन्द गरिएको हो। ‘हामीले हिजो (मंगलबार) नै आन्दोलनको घोषणा गरिसकेको हो, सोही अनुसार आज सबै विद्यालय बन्द गरिएको हो,’ उनले रातोपाटीलाई बताए।
गाउँपालिकाले अनुदान कोटामा नियुक्त गरेका शिक्षक, कर्मचारी, बालविकास सहजकर्ता र विद्यालय सहयोगीहरूको पारिश्रमिक रोकेको छ। आन्दोलनको कार्यक्रमअनुसार असार ५ गतेदेखि शिक्षा, युवा तथा खेलकुद शाखा, लेखा शाखा तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने योजना रहेको देवकोटाले जानकारी दिए।
शिक्षकहरूको मागका सम्बन्धमा गाउँपालिका अध्यक्ष रक्षबहादुर शाही सकारात्मक भए पनि कर्मचारी र वडाध्यक्षहरूले असहयोग गरिरहेको गुनासो शिक्षकहरूको छ। गाउँपालिकाले एकातर्फ कार्यरत शिक्षकलाई तलब नदिएको र अर्कोतर्फ सोही प्रकृतिका नयाँ शिक्षकहरू नियुक्त गरिरहेको उनीहरूको आरोप छ।
विद्यालय बन्द भएपछि विद्यालय पुगेका विद्यार्थीहरू घर फर्कनुपरेको मालिका मावि ठिमुरेका प्रधानाध्यापक महेन्द्रबहादुर शाहीले बताए।
