खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि चीनसँग दोस्रो चरणको सम्झौताको गृहकार्य थालेको छ। विभागले चाइना जियोलोजिकल सर्भेसँग थप सम्झौताको तयारी गरिरहेको छ।
चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पहिलो चरणको ड्रिलिङ अन्वेषण सम्पन्न गरेको छ। यस चरणको कार्य सकिएसँगै व्यावसायिक उत्पादनको बाटो खुलेको छ।
पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले Nmkhabarलाई पुष्टि गरे। चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न भएको छ।
नमूना परीक्षणका क्रममा पेट्रोल र प्राकृतिक ग्यासको सम्भावना पुष्टि भएको छ। परियोजना सफल भएमा नेपालको पेट्रोलियम आयात खर्च कटौती हुनेछ। यसले मुलुकको आर्थिक विकासमा सहयोग पुग्नेछ।
