सुनसरी । नेपाल विद्युत प्राधिकरण धरान कार्यालयको स्कारपियो गाडी सेउती पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० मा राति करिब ११:३० बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले दुर्घटनाको पुष्टि गरे।
दुर्घटनामा गाडी चालक धरान–१३ का बिर्ख राई र प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्यको मृत्यु भएको छ। दुवैलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। चिकित्सकले राति १२:४५ बजे मृत घोषणा गरेका हुन्।
घाइते धरान २० का पवन राईको सोही प्रतिष्ठानमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
