रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ। यसले देशको विद्युत् आपूर्तिमा ठूलो धक्का पुगेको छ।
बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुर्याएको छ। यस कारण ठूलो परिमाणमा बिजुली आपूर्ति बन्द भएको छ। आम सर्वसाधारणमा लोडसेडिङको चिन्ता बढेको छ।
नेपाल विद्युत् प्राधिकरणले बर्खाको उच्च बहावका बाबजुद अन्य आयोजना पूर्ण क्षमतामा चलिरहेकाले तत्काल ठूलो समस्या नहुने जनाएको छ। यद्यपि, झन्डै साढे चार सय मेगावाट एकैपटक प्रणालीबाट बाहिरिनु प्राधिकरणका लागि चुनौती रहेको स्वीकार गरेको छ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले लोडसेडिङ रोक्न वैकल्पिक उपाय सुरु गरेको बताए। उपत्यकाबासीलाई असर पर्न नदिन लोड डिस्प्याच सेन्टर (एलडीसी) सँग प्राविधिक अध्ययन भइरहेको छ।
श्रेष्ठका अनुसार सम्भावित लोडसेडिङ शून्य वा न्यूनतम बनाउने प्रयास जारी छ। त्रिशूली करिडोर ठप्प भए पनि उपत्यकाका मुख्य सबस्टेसन वैकल्पिक स्रोतबाट सञ्चालन गर्ने रणनीति छ।
मातातीर्थ सबस्टेसनमार्फत मस्र्याङ्दी करिडोरको विद्युत्, र लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसनमार्फत तामाकोशी र सुनकोशी करिडोरको विद्युत् बढाएर उपत्यकाको प्रणाली सन्तुलनमा राखिनेछ। सिन्धुपाल्चोकबाट समुद्रटार क्षेत्रमा विद्युत् सुचारु गर्ने प्रयास भइरहेको छ।
स्यूचाटारस्थित राष्ट्रिय ग्रिड नियन्त्रण केन्द्रमार्फत बानेश्वर, टेकु, बालाजु, लैनचौर, पाटन र भक्तपुरका वितरण सबस्टेसनमा वैकल्पिक लाइनबाट विद्युत् प्रवाह गराई आपूर्ति सुचारु राख्ने प्रयास छ। ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रलाई चौबीसै घण्टा खटिन निर्देशन दिइएको छ।
विद्युत् सङ्कटसँगै बाढीले मानवीय सङ्कट पनि निम्त्याएको छ। त्रिशूली ३ बी, चिलिमे, रसुवागढी र त्रिशूली ३ ए जलविद्युत केन्द्रका १०० भन्दा बढी कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको उद्धारका लागि प्राधिकरणले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिरहेको छ।
प्राधिकरणले आधिकारिक सूचनामा मात्र विश्वास गर्न र आपतकालीन अवस्थामा नजिकको सुरक्षा निकाय वा विद्युत् कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
