संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग प्राप्त हुनेछ।
मङ्गलबार काठमाडौँमा सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त सहयोग रकम प्रदान गर्ने घोषणा भएको हो। जर्मनीको राजदूतावासले जनाएअनुसार ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकतामा राखिनेछ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयका धनीराम शर्माले गरेका थिए। जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रालय (बिएमजेड) की बार्बरा शेफरले गरेकी थिइन्।
यो सहायता रकम नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित कृषि विकास, राजस्व क्षेत्र सुधार, पूर्वाधार, लैङ्गिक समानता, दिगो आर्थिक विकास र वित्तीय पहुँच विस्तारमा उपयोग गरिनेछ।
