बाढीले ११ जलविद्युत् आयोजनाका ९३४ कर्मचारी सम्पर्कविहीन बनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार निर्माणाधीन आयोजनासहितका यी कर्मचारीको यकिन संख्या अझै आइसकेको छैन।
चिलिमे जलविद्युत् केन्द्रमा ६ जना कर्मचारी सुरुङभित्र फसेका छन्। दलदलले सुरुङमा जान नसकिएको र रक क्लाइम्बिङ टोली परिचालनको तयारी भइरहेको कार्यकारी निर्देशक बाबुराज महर्जनले बताए। आयोजनाको सुरुङ र विद्युत् गृहमा क्षति पुगेको छ।
रसुवागढी हाइड्रोपावरका सूचना अधिकारी नाराणनाथ न्यौपानेका अनुसार ४९ कर्मचारी सम्पर्कविहीन छन्। बाँधस्थल र पावर हाउसमा रहेका ५६/५७ जनाको अवस्था अज्ञात छ। भूमिगत विद्युत् गृहभित्र ३ देखि ६ जना रहेको अनुमान छ।
सेनाले माथिल्लो त्रिशूली–१ बाट २ सय ५४ र लाङटाङ खोलाबाट १८ जनाको उद्धार गरिसकेको छ। तर, यी आयोजनाका साथै रसुवागढी र चिलिमे लगायतका आयोजनाबाट उद्धार जारी छ।
आयोजना अधिकारीहरूले सरकारले उद्धारलाई प्राथमिकता नदिएको गुनासो गरेका छन्। लाङटाङ जलविद्युत् आयोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईले पुल र सडक बगाएकाले हेलिकोप्टरबाहेक आयोजनास्थल पुग्न नसकिने बताए। ४२ जना सम्पर्कविहीन छन्।
ऊर्जा मन्त्रालयका अनुसार शुक्रबारसम्म ३ सय ५० जनाको उद्धार गरिएको छ। सुरुङभित्र अझै १ सयभन्दा बढी फसेको अनुमान छ। नेपाली सेनाको टोली उद्धारमा खटिएको छ।
मन्त्रालयले आयोजना व्यवस्थापक, इप्पान र प्राधिकरणका प्रतिनिधिसँग बैठक गरी विवरण अद्यावधिक गरिरहेको छ। प्रारम्भिक जानकारीअनुसार एक हजारभन्दा बढी कर्मचारी सम्पर्कविहीन छन्।
ऊर्जा मन्त्रालयले माथिल्लो त्रिशूली–३ ए (६० मेगावाट) को भूमिगत पावरहाउसमा फसेका कर्मचारीको उद्धारका लागि विशेष अभियान चलाएको छ। सेना र प्राविधिकको समन्वयमा केबल टनेलको पुरिएको मुख खोल्ने कार्य तीव्र छ।
प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भोटेकोशी बाढीले २ सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन बनाएको बताए। चिलिमे, रसुवागढी, त्रिशूली–३ ए र त्रिशूली–३ बी आयोजनामा यो समस्या छ।
माथिल्लो त्रिशूली–३ (३७ मेगावाट) का २ सय १३ जना कर्मचारी, सुरक्षाकर्मी र इन्टर्न सम्पर्कविहीन छन्। त्रिशूली जलविद्युत् कम्पनीका अनुसार ८५ जनाको उद्धार भएको छ।
