NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतीय हेलिकोप्टरको नेपाली आकाशमा अनधिकृत उडान: दार्चुला प्रशासनद्वारा भारतलाई मौखिक ध्यानाकर्षण

भारतीय सीमा सुरक्षा बल (आईटीबीपी) का महानिर्देशक सवार हेलिकोप्टरले गत मंगलबार अनुमतिबिना नेपाली आकाश प्रयोग गरेको छ। यो अन्तर्राष्ट्रिय कानुन उल्लंघन हो। दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतीय प्रशासनलाई मौखिक रूपमा ध्यानाकर्षण गराएका छन्।
Bikram Magar
Bikram Magar
14 June 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
भारतीय हेलिकोप्टर नेपाली आकाश
Share:

भारतीय सीमा सुरक्षा बल (आईटीबीपी) का महानिर्देशक सवार हेलिकोप्टरले नेपाली आकाशमाथि अनधिकृत उडान भरेको छ। महानिर्देशक कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित युनिट निरीक्षणमा जाँदा हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको पाइएको हो। यो घटना गत मंगलबार दार्चुलाको आकाशमा भएको हो।

कुनै पनि देशको अनुमतिबिना अर्को देशको विमान वा हेलिकोप्टरले हवाई क्षेत्र प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुनअनुसार ‘एयर स्पेस भ्वाइलेसन’ मानिन्छ।

यस विषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय प्रशासनसँग मौखिक रूपमा कुरा भइसकेको बताए। उनले हेलिकोप्टर नेपाली भूमिमा नबसे पनि नेपाली आकाश प्रयोग गरेको देखिनु गम्भीर विषय भएको बताए।

‘कहिलेकाहीँ प्राविधिक समस्याका कारण यस्तो हुन सक्ने भए पनि प्रशासनिक रूपमा अर्को देशको आकाश बिना अनुमति प्रयोग गर्न पाइँदैन,’ पौडेलले भने, ‘यसबारे हामीले भारतीय प्रशासनलाई यस्तो गर्न पाइँदैन भनेर मौखिक रूपमा ध्यानाकर्षण गराएका छौँ। आवश्यकता हेरेर थप औपचारिक पत्राचारको प्रक्रिया पनि अगाडि बढ्नेछ।’

सो दिन मौसम सामान्य थियो। उडानअघि पूर्वजानकारी दिनुपर्ने सामान्य प्रक्रिया भए तापनि भारतीय पक्षले यसबारे कुनै जानकारी नगराएको प्रशासनको भनाइ छ। पिथौरागढस्थित भारतीय जिल्ला अधिकारीको कार्यालयलाई पनि औपचारिक रूपमा सोध्ने तयारी भइरहेको छ।

दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको यो पहिलो घटना होइन। केही समयअघि पनि दार्चुला सदरमुकाम खलंगाको आकाश हुँदै भारतीय हेलिकोप्टरहरू निरन्तर कालापानीतर्फ उडेपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको थियो।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार