झापामा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानको पहिलो दिन २१ हजार ७४६ जनाले खोप लगाएका छन्।
स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका नौ स्थानीय तहमा अभियान सुरु भएको हो। पहिलो दिन ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच हजार ८४१ जनाले खोप लगाए।
जिल्लाका १५ स्थानीय तहमा असोज १५ सम्म चल्ने यो अभियानले ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप दिने लक्ष्य राखेको छ।
प्रमुख दासले पहिलो दिनको अभियान उत्साहजनक रहेको बताए। लक्षित समूहका सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरिनेछ।
झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको प्रमुख दासले बताए।
अभियानका लागि १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरिएको छ। करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।
