कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने क्रममा महिलाको टेम्पो भीरबाट खसालिएको घटनामा ११ वन कर्मचारी प्रहरी नियन्त्रणमा छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार नियन्त्रणमा लिइएका कर्मचारीसँग घटनाबारे सोधपुछ भइरहेको छ।
भीमदत्त राजमार्ग क्षेत्रमा वन अतिक्रमण हटाउने अभियानका क्रममा शुक्रबार यो घटना भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा वन कार्यालयका कर्मचारीले टेम्पो धकेलेर भीरबाट खसालेको देखिन्छ। टेम्पो धनी गोदावरी नगरपालिका-४ की धनादेवी धामीले वन कर्मचारीले कानुनी प्रक्रिया पूरा नगरी रोजीरोटीको साधन नष्ट गरेको आरोप लगाएकी छिन्।
डिभिजन वन कार्यालय धनगढीले भने कर्मचारीले नियोजित बल प्रयोग नगरेको दाबी गरेको छ। कार्यालयको आइतबारको विज्ञप्तिमा प्रचारमा आएजस्तो बल प्रयोग नभएको उल्लेख छ। टेम्पो सञ्चालनयोग्य नरहेको, कवाड भइसकेको र छाप्रोका रूपमा प्रयोग भइरहेको कार्यालयको दाबी छ। लामो समयदेखि संरचना हटाउन आग्रह गर्दा अटेर भएपछि बल प्रयोग गर्दा भिरालो भूगोल र सन्तुलन नमिल्दा टेम्पो खसेको कार्यालयको भनाइ छ।
टेम्पो धनी धामीले घटनाले आफू र परिवार ठूलो आर्थिक तथा मानसिक संकटमा परेको दुखेसो पोखेकी छिन्। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घटनाको अध्ययन र छानबिन गर्ने जनाएको छ।
