यस वर्षको मनसुनमा काठमाडौं महानगरपालिकाले १२८ स्थानमा डुबानको जोखिम पहिचान गरेको छ। यसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान छ। जोखिम कम गर्न महानगरले मनसुनपूर्व तयारी र प्रतिकार्य योजना स्वीकृत गरेको छ।
कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती, विष्णुमतीको दोभानबाट तल्लो भेगमा पर्ने वडा नं १४ सबैभन्दा बढी जोखिममा छ। डुबानबाट कतै धेरै स्थान, कतै धेरै परिवार प्रभावित हुने देखिन्छ।
नेपालले वडा १४ सँगै १३, १५, २९, १०, १६, २६, ३२, १२ बढी जोखिममा रहेको बताए। वडा नं ३० मा २१ ठाउँ, वडा ४ र ३२ मा १०-१० ठाउँमा डुबानको जोखिम छ। वडा नं १६ सबैभन्दा बढी प्रभावित हुने अनुमान छ।
सामाखुशी, विष्णुमती र अन्य खहरे खोलाले वडा १६ मा करिब एक हजार ६०० परिवार प्रभावित हुनेछन्। वडा नं २६ मा एक हजार २५५, वडा ३ मा ९५० र वडा ४ मा ९५५ परिवार प्रभावित हुनेछन्।
महानगरले पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा तथा आकस्मिक सेवाका अधिकारीका टेलिफोन नम्बर तयारी अवस्थामा राखेको छ। स्रोत र उपकरणको विवरण पनि उल्लेख छ।
जोखिम घटाउन, उद्धार, राहत, व्यवस्थापन तथा पुनर्लाभका लागि कामपाका ११ वटा विभागलाई जिम्मेवारी तोकिएको छ। विपद्का समयमा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र र ८७ वटा विद्यालय पहिचान गरिएका छन्।
अविरल वर्षाले सहरी जीवनमा उत्पन्न बाढी र डुबानजन्य जोखिम फेरि नदोहोरियोस् भन्ने सचेतनामा महानगरले नदी सरसफाइ, डुबान समाधान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।
कामपाकी कार्यवाहक प्रमुख एवं विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले जेठ १८ देखि असोज १४ गतेसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार मानी कार्ययोजना स्वीकृत गरेको हो।
डङ्गोलले सम्भावित डुबानको जोखिम घटाउन पूर्वाधार, सरसफाइ तयारी नियमित सञ्चालन गर्न निर्देशन दिइन्। उनले समन्वय र सहकार्यको प्रणाली कार्यान्वयन योग्य बनाउन पनि भनिन्। विपद्का समयमा ठेगाना प्रणालीका कारण अलमल नहुने अवस्था निर्माण गर्न उनले विभागलाई निर्देशन दिइन्।
