राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको प्रतिनिधिसभा बैठकमा बताएकी छिन्। बुधबारको बैठकमा बोल्दै उनले सनातनी राज्य हुनुपर्ने आफ्नो भनाइपछि सामाजिक सञ्जालबाट यस्ता धम्की आएको दाबी गरिन्।
ओलीले ९० प्रतिशत सनातनी बसोबास गर्ने देशमा संविधानले सुनिश्चित गरेको सनातन राज्यको पक्षमा बोलेको कारण आफूलाई सुनियोजित ढंगले ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की आएको बताइन्।
सांसद ओलीले सो विषय उठाएलगत्तै गृहमन्त्री सुदन गुरुङले संसदभित्रै पुगेर उनीसँग छलफल गरेका थिए। गृहमन्त्री गुरुङले धम्की दिनेहरूलाई कारबाही गर्ने प्रक्रिया अघि बढाउने आश्वासन दिए।
उनले घटनाको आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै ओलीलाई प्रक्रियामा जान आग्रह गरेका थिए।
