कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि कर्मचारीलाई प्रदेशमै उत्पादित ढाका, खाँडी (खादी) र अल्लो कपडाबाट बनेको पोसाक अनिवार्य गरेको छ। यो व्यवस्था साताको दुई दिन, बुधबार र शुक्रबार लागू हुनेछ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यो निर्णय कार्यान्वयनमा ल्याएको हो। यसै अनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले स्थानीय उत्पादनका पोसाक लगाउन सुरु गरेका छन्।
सरकारले नियमित पोसाक भत्तामा प्रतिव्यक्ति वार्षिक ५ हजार ५०० रुपैयाँ थप गरी यो विशेष सुविधा उपलब्ध गराएको छ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आर्थिक वर्ष २०८३/०८४ देखि स्थानीय तहलाई पनि यो अभियानमा सहभागी गराउने बताए। प्रदेश सरकारले लागत साझेदारी र बजेट व्यवस्था गर्नेछ। कार्कीका अनुसार यसले स्थानीय उत्पादन, बजारीकरण र उद्यमीलाई प्रत्यक्ष लाभ पुग्नेछ।
कोशी प्रदेश सरकारमा करिब ३ हजार ९६ कर्मचारी कार्यरत छन्। स्वीकृत दरबन्दी ४ हजारभन्दा बढी छ।
