नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
मन्त्री पुनले विज्ञान प्रविधिको विकासका लागि रातदिन काम गर्ने प्रतिबद्धता जनाए। उनले आफू यो पदमा बढीमा तीन वर्ष मात्र बस्ने र त्यसपछि नयाँ युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गरे।
सरकारको पाँच वर्षे कार्यकाल भए पनि पुन तीन वर्षमै जिम्मेवारीबाट बाहिरिने बताए। विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा बलियो आधार तयार गरेर युवा नेतृत्व सुम्पने उनको भनाइ छ।
पदभार ग्रहणकै क्रममा मन्त्री पुनले मन्त्रालयको व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्बन्धी निर्णयमा हस्ताक्षर गरे। नयाँ मन्त्रालय भएकाले यसको व्यवस्थापनका लागि यो निर्णय आवश्यक रहेको उनले जानकारी दिए।
यसअघि महावीर पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए।
