नागढुंगा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा आउने तयारी अन्तिम चरणमा छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नौबिसे–नागढुंगा सडकखण्डमा सवारी आवतजावत सहज हुने अपेक्षा छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गभित्रका अधिकांश काम सकिएका छन्। आकस्मिक घटना व्यवस्थापन र उद्धारका लागि परीक्षण जारी छ। सुरुङमार्ग बाहिरको पहिरो रोकथामको काम मात्र बाँकी छ।
दुई हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्ग २६ अप्रिल २०२३ भित्रै सम्पन्न हुनुपर्ने थियो। ठेकेदारको ढिलासुस्ती र स्थानीय अवरोधले निर्माण ढिलाइ भएको हो। हाल सुरुङमार्ग सञ्चालन र व्यवस्थापनको अभ्यास भइरहेको छ।
शुल्क सङ्कलन गर्ने बैंक छनोट र कार्ड छपाइ प्रक्रिया अघि बढेको छ। भुक्तानीका लागि ‘म्यानुअल’, ‘क्यूआर कोड’ स्क्यानिङ र स्टिकर रिड गर्ने क्यामेरा प्रणालीको व्यवस्था छ। उठेको दस्तुर सडक बोर्ड नेपालको खातामा दाखिला गरिनेछ।
युसिन एआरटी कम्पनीले रु एक अर्ब १० करोड लागतमा पाँच वर्षका लागि सुरुङमार्गको सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारको जिम्मेवारी पाएको छ। यसमा १५० जना जनशक्ति खटिनेछन्। पिकआवरमा ४० जना खटिनेछन्।
यो रुटमा दैनिक करिब आठ हजार सवारीसाधन (दुईपांग्रेबाहेक) गुड्ने अनुमान छ। यसमध्ये ६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्ने अपेक्षा छ। दुईपांग्रे सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सवारीसाधनको क्षमताअनुसार शुल्क निर्धारण गरेको छ। कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस जस्ता हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा रु ६५ र प्रस्थान गर्दा रु ६० तिर्नुपर्नेछ। मिनीबस, मिनी टिपर, ट्रकका लागि प्रवेशमा रु १२५ र प्रस्थानमा रु ८० तोकिएको छ।
बस, ट्रक (सिंगल रियर एक्सल) का लागि प्रवेशमा रु २६० र प्रस्थानमा रु २०० दस्तुर लाग्नेछ। मल्टिएक्सल ट्रक, भारी उपकरणका लागि प्रवेशमा रु ६०० र प्रस्थानमा रु २५० दस्तुर निर्धारण गरिएको छ।
