NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बजेट २० खर्ब नाघ्दै, कर्मचारीको तलब १५% बढ्ने

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट २० खर्ब रुपैयाँभन्दा बढी आकारको हुने अनुमान छ। यस बजेटमार्फत निजामती कर्मचारीको न्यूनतम तलब १५ प्रतिशतले वृद्धि गरिनेछ। राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिने र कमजोर सार्वजनिक निकाय खारेज गर्ने तयारी छ।
Sunita Rai
Sunita Rai
29 May 2026, 6:01 am १ मिनेट पढाइ
आकार:
Share:

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नेछन्। यस पटक बजेटको आकार २० खर्ब रुपैयाँ नाघ्ने अनुमान छ।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणकारी कार्यक्रम ल्याउने बताएका छन्। आगामी पाँच वर्षसम्म सुधारका कार्यक्रमलाई व्यवस्थित गर्ने उनको तयारी छ।

बजेटमा राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता दिई द्रुत गतिमा सम्पन्न गर्ने र कमजोर सार्वजनिक निकाय खारेज गर्नेसम्मका घोषणा हुन सक्नेछन्। निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि, करका दरलाई समयानुकूल बनाउने र व्यक्तिगत आयकरको सीमा बढाउने जस्ता कार्यक्रम पनि समेटिने भएका छन्।

अर्थ मन्त्रालयले उपभोग र लगानी बढाएर सात वर्षभित्र नेपाललाई एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ।

अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नेछन्। संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ।

पछिल्लो १० वर्षमा बजेटको आकार दोब्बरभन्दा बढीले बढे पनि राजस्व र खर्च भने सोही अनुपातमा बढ्न सकेको छैन। आर्थिक वर्ष २०७२/७३ मा ८ खर्ब १९ अर्ब रुपैयाँ रहेको बजेटको आकार चालु आर्थिक वर्ष २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ।

राजस्व सङ्कलनमा आएको सुस्तताले सरकारलाई स्रोत व्यवस्थापनमा हरेक वर्ष दबाब थपिँदै गएको छ। चालु आवमा १९ खर्ब ६४ अर्बको बजेटमा १० खर्ब २१ अर्ब राजस्व सङ्कलनको संशोधित अनुमान छ, जसले ठूलो खाडल देखाउँछ। यो खाडल पुर्न सार्वजनिक ऋणको आकार बढ्दो छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार