प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अब संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहलाई नखोज्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मुलुकको समस्या प्रधानमन्त्रीभन्दा निकै ठूलो र संवेदनशील भएकाले अब प्रधानमन्त्रीलाई खोजेर संसद् अवरोध गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे।
नेता आङ्देम्बेले प्रधानमन्त्री साहलाई संसद् नचाहिए पनि देश र प्रतिपक्षलाई संसद् चाहिएको उल्लेख गरे। उनले प्रधानमन्त्री साह फेरि पनि छापामार शैलीमा संसद्मा आएर उदण्डता मच्चाउने हुन् कि भन्ने संशय र डर आफूलाई लागिरहेको बताए। “उप्रान्त म उहाँलाई खोज्न चाहन्नँ। किनभन्दा मेरो मुलुकको समस्या, प्रश्नहरू उनको उपस्थितिभन्दा पनि ठूलो छ। उहाँभन्दा पनि संवेदनशील छ। तर डर लाग्छ, फेरि पनि उदण्डता मच्चाइदिनु होला,” आङ्देम्बेले भने।
नेता आङ्देम्बेले सीमा विवादको विषयलाई लिएर सत्तापक्षका सांसदहरूको भूमिकाप्रति कडा आपत्ति जनाए। उनले आफ्नो देशले कसैको सीमा मिचेको छैन भन्ने विश्वास हुनुपर्नेमा सत्तापक्षका केही सांसदहरूले उल्टै नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिको बल लगाएर दौडिरहेको भन्दै आफू लज्जित भएको टिप्पणी गरे।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको स्मरण गराउँदै नेता आङ्देम्बेले यो समस्याको समाधान उत्तेजना र आवेशबाट नभई संयमित ढंगले गहन कूटनीतिक संवादमार्फत टुंगो लगाउनुपर्ने स्पष्ट पारे। उनले यस विषयमा प्रतिपक्ष सधैँ सरकारको साथमा रहेको तर सरकार र सत्तारुढ दलकै रवैया गम्भीर नदेखिएको आरोप लगाए।
उनले सत्तापक्षकै कारण संसद्मा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइरहेको कारुणिक दृश्य आफूले देख्नुपरेको भन्दै चिन्ता व्यक्त गरे।
यसैबीच, नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण नभएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्रीले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिए।
