मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी लगायत ६ प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना औंल्याएको छ। पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले यस्तो अवस्था आएको हो।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली छ। बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा पनि यस्तै सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा बदली रहनेछ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि यस्तै सम्भावना छ। कर्णाली प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ।
