NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतीय अवरोधले नेपाली चिया उद्योग गम्भीर संकटमा, दर्जनौं बन्द

• भारतीय अवरोधपछि पूर्वी नेपालका ८३ चिया उद्योग बन्द।• हजारौं किसान र मजदुरको रोजगारी तथा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर।• नेपाल सरकारसँग उच्चस्तरीय कूटनीतिक पहलका लागि उद्योगीको माग।
Sunita Rai
Sunita Rai
17 June 2026, 6:48 pm १ मिनेट पढाइ
आकार:
Share:

भारतीय पक्षबाट चिया निर्यातमा अप्रत्याशित अवरोध सिर्जना भएपछि नेपालको पूर्वी पहाडी क्षेत्रका दर्जनौं चिया उद्योग गम्भीर संकटमा परेका छन्।

पूर्वी नेपालका इलाम, झापा, पाँचथर तथा आसपासका जिल्लामा सञ्चालनमा रहेका कुल ८३ वटा चिया उद्योग अहिले बन्द भएका छन्। उद्योगीहरूले लगातार बढ्दो समस्या समाधान नभए तत्काल उद्योग सञ्चालन सम्भव नरहेको भन्दै उत्पादन बन्द गर्ने निर्णय गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले यस समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले एक प्रेस विज्ञप्ति जारी गर्दै यस समस्याको स्थायी समाधानका लागि नेपाल सरकारसँग अविलम्ब उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेका छन्।

विगत केही दिनदेखि भारतीय पक्षले ‘गुणस्तर परीक्षण’का नाममा गैर–भन्सार अवरोध सिर्जना गरेपछि ठुलो परिमाणमा नेपाली तयारी चिया सिमानाकामा रोकिएको छ। यस अवरोधका कारण चिया उद्योगहरूमा तयारी चियाको मौज्दात अत्यधिक बढेको छ भने उद्योगहरूको नगद प्रवाहमा गम्भीर समस्या देखिएको महासङ्घले जनाएको छ।

निकासी ठप्प भएपछि चिया उद्योगहरू विगत तीन दिनदेखि अनिश्चितकालका लागि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन्। मुख्य सिजनमै चिया निकासी ठप्प हुँदा यस क्षेत्रमा आश्रित हजारौँ किसान, श्रमिक र उद्यमीहरू प्रत्यक्ष रूपमा मारमा परेका छन्।

तथ्याङ्क अनुसार नेपालको करिब १० हजार हेक्टर क्षेत्रफलमा वार्षिक २ करोड ७४ लाख केजी चिया उत्पादन हुने गर्दछ। उत्पादित चियामध्ये ठुलो हिस्सा अर्थात् वार्षिक २ करोड ५६ लाख केजी चिया भारततर्फ मात्र निकासी हुने गरेको छ। यस उद्योगमा २० हजारभन्दा बढी मानिसले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

उद्योग बन्द हुनुले श्रमिक र किसानलाई बेरोजगार बनाउनुका साथै समग्र क्षेत्रकै अर्थतन्त्रमा नकारात्मक असर पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ। चिया व्यवसायसँग जोडिएको स्थानीय अर्थतन्त्रमा पनि प्रत्यक्ष असर देखिन थालेको छ।

विगतमा यस्ता अवरोधहरू आपसी छलफल र कूटनीतिक पहलबाट समाधान हुने गरेको भए पनि यस पटक लामो समयसम्म निर्यात ठप्प हुनु चिन्ताजनक भएको महासङ्घको भनाइ छ। महासंघ कोशी प्रदेशले केन्द्रीय उद्योग वाणिज्य महासङ्घमार्फत पनि सम्बन्धित निकायहरूमा आवश्यक पहलका लागि अनुरोध गरिसकेको छ।

महासङ्घले नेपाली चिया उद्योग, किसान र श्रमिकहरूको हित संरक्षणका लागि आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्यातको वातावरण यथाशीघ्र सहज बनाउन सरकारसँग हार्दिक अनुरोध गरेको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार