नेपालकी ट्रान्स महिला निलम पौडेलले मे २३, २०२६ मा सगरमाथाको चुचुरोमा पाइला टेकिन्, उनी यो कीर्तिमान बनाउने पहिलो ट्रान्स महिला हुन्। यो आरोहणले व्यक्तिगत साहसका साथै सामाजिक पहिचानको संघर्षमाथि विजय हासिल गरेको छ।
पौडेलको यो यात्रा वर्षौँदेखि भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको लडाइँमाथि प्राप्त प्रतीकात्मक जित हो। उनको सफलताले सीमान्तकृत एलजीबिटिक्यू समुदायलाई ‘हामी पनि सक्छौँ’ भन्ने सशक्त सन्देश दिएको छ।
युवा, मानवअधिकारकर्मी र एलजीबिटिक्यू समुदायले यसलाई समावेशिता र समानताको दिशामा कोसेढुङ्गा मानेका छन्। पौडेलको आरोहणले सगरमाथालाई विविधता, साहस र खुलापनको प्रतीक बनाएको छ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निलमले अभियानको महत्व उजागर गरिन्। उनले एलजीबिटिक्यू समुदायका व्यक्तिहरू खेलकुद, साहसिक पर्यटन, नेतृत्व लगायतका क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्न सक्षम रहेको बताइन्।
तर, निलमको आरोहण सहज थिएन। सगरमाथा आरोहणमा उनलाई ५० लाख रुपैयाँ खर्च लाग्यो। यसमा ३५ लाख आफ्नै कमाइ र १५ लाख ऋण थियो। ट्रान्स महिला भएकै कारण कैयौँ संघ-संस्था तथा आफन्तले आर्थिक सहयोग नगरेको गुनासो उनले गरिन्।
सगरमाथाको चुचुरोमा पुगेपछि उनले समुदायले भोग्दै आएको पीडा, अवहेलना र असमान व्यवहार अन्त्य होस् भन्ने कामना गरिन्। उनले सगरमाथा फोहोर भएको र हिउँ पग्लिँदै गरेकोमा दु:ख व्यक्त गरिन्।
निलमलाई सन् २०१० मा दुबईमा ‘हाउस मेड’ को काम गरिरहेका बेला एक नेपालीले सगरमाथा आरोहण गरेको समाचार सुनेपछि यो सपना जागेको थियो।
