काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ, जसको औपचारिक निर्णयका लागि संवैधानिक परिषद्को बैठक जारी छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत गत चैत १८ गते उमेरहदका कारण अवकाश पाएपछि उक्त पद रिक्त छ। उहाँको अवकाशपछि हाल सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा हुनुहुन्छ।
न्याय परिषद्ले प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ। संविधानको धारा १२९ को उपधारा ३ अनुसार, सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेका व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने व्यवस्था छ। सोही आधारमा परिषद्ले तीन वर्ष अवधि पूरा गरेका सबै न्यायाधीशको नाम सिफारिस गरेको हो।
संवैधानिक परिषद्को बैठक बसिरहँदा प्रधानन्यायाधीश को बन्ला भन्ने चासो सर्वत्र छ।
