NM Khabar 21 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

फिलिपिन्सको मिन्डानाओ टापुमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।
Bikram Magar
Bikram Magar
8 June 2026, 6:47 am १ मिनेट पढाइ
आकार:
फिलिपिन्स भूकम्प सुनामी
Share:

फिलिपिन्सको मिन्डानाओ टापुमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यसपछि फिलिपिन्स, इन्डोनेसिया र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ।

स्थानीय समय अनुसार बिहान ७:३७ बजे मिन्डानाओको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको छ।

भूकम्पको तीव्रताबारे विभिन्न निकायले फरक विवरण दिएका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) ले ७.० म्याग्निच्युड र १० किलोमिटर गहिराइ बताएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने ७.८ म्याग्निच्युड र ३५ किलोमिटर गहिराइ मापन गरेको छ। जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले ७.८ म्याग्निच्युड र ५० किलोमिटर गहिराइ जनाएको छ।

समुद्रमा ठुला छाल आउन सक्ने जोखिमले तटीय क्षेत्रका देश सतर्क भएका छन्। प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्प केन्द्र नजिकका प्रशान्त क्षेत्रमा सुनामीको जोखिम रहेको जनाएको छ।

अमेरिकी सरकारी एजेन्सीले सर्वसाधारणलाई तत्काल समुद्रबाट बाहिर निस्कन भनेको छ। फिलिपिन्सको भूकम्प मापन केन्द्रले १ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिएको छ।

इन्डोनेसियाको एजेन्सीले देशको उत्तर–पूर्वी तटीय क्षेत्र र जापानले प्रशान्त महासागरीय तटका विभिन्न भू–भागमा सुनामीको पूर्वचेतावनी जारी गरेका छन्। गुआम र मारियाना टापुहरूका लागि पनि सुनामीसम्बन्धी परामर्श जारी गरिएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार