रौतहटको गरुडा नगरपालिका ४ बाट उपद्रव मुद्दाका राजु पटेल र सुजित कुमार चौधरी तथा लागूऔषध गाँजा मुद्दाका अर्का सुजित कुमार चौधरी पक्राउ परेका छन्। जिल्ला अदालत गौरबाट दोषी ठहर भई फरार रहेका उनीहरूलाई फैसला कार्यान्वयनका लागि १० महिना ८ दिन कैद भुक्तान गर्न अदालतमा बुझाइएको छ।
यसैबीच, गौर बसपार्कस्थित अस्थायी प्रहरी पोष्टले भारतबाट भन्सार छली गरी ल्याइएका लत्ता कपडा, चकलेट, कोल्ड ड्रिंक्स र इलेक्ट्रोनिक सामग्रीसहित करिब २ लाख १६ हजार २५० रुपैयाँ बराबरको अवैध मालसामान बरामद गरेको छ। प्रहरी चौकी रंगपुरको गस्ती टोलीले वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याइएको करिब ३० हजार रुपैयाँ मूल्य बराबरको ३० क्युफिट सालको गोलिया काठ पनि बरामद गरेको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर र काठ डिभिजन वन कार्यालय चोचामा बुझाइएको छ।
