NM Khabar 21 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सप्तकोशीको धार पश्चिमतर्फ सोझिँदा श्रीलङ्का टप्पुका ६०० परिवारको बिचल्ली

सप्तकोशी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरका श्रीलङ्का टप्पु र चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्। नदी नियन्त्रणका लागि बनाइएका १८ मध्ये ९ स्पर भत्किसकेका छन्, जसले गर्दा स्थानीयवासी थातथलो छाड्न बाध्य भएका छन्। कटान नियन्त्रण स्थानीय तहको क्षमताभन्दा बाहिर गएको भन्दै यसको दीर्घकालीन समाधानका लागि वैज्ञानिक अध्ययन, सङ्घीय सरकारको बजेट र भारतसँग कूटनीतिक पहल आवश्यक रहेको बताइएको छ।
Kamala Devi
Kamala Devi
21 September 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
सप्तकोशी कटान
Share:

सप्तकोशी नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ तीव्र कटान थालेपछि सुनसरी र उदयपुरको सीमावर्ती श्रीलङ्का टप्पु तथा चिलिया टप्पुका ६०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका छन्। नदी नियन्त्रणका लागि बनाइएका १८ मध्ये ९ वटा स्पर नदीले पूर्ण रूपमा बगाइसकेको छ।

बस्ती नै सखाप हुने त्रासले कतिपय स्थानीय थातथलो छाडेर अन्यत्र बसाइँ सर्न थालेका छन्। बर्खा सुरु भएदेखि नै नदीले कटान तीव्र पारेपछि केही दिनअघि २२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापित केही परिवार अहिले चौरमा टहरा हालेर बसिरहेका छन्।

कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार बाँकी रहेका स्परहरू पनि नदीको तीव्र बहावका कारण जोखिममा छन्। नदी बस्तीतर्फ सोझिएपछि स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी मिलेर बाँस गाड्ने तथा बालुवाका बोरा राखेर तटबन्ध जोगाउने प्रयास गरिरहेका छन्।

चार दशकदेखि श्रीलङ्का टप्पुमा बस्दै आएका बराहक्षेत्र नगरपालिका-६ का बुद्धिमान माझीले कटानकै कारण आफ्नो ५/७ बिघा जमिन गुमाइसकेका छन्। ‘कति बेला कोशी आउँछ र बगाउँछ भन्ने टुङ्गो हुँदैन, रातभर जाग्राम बस्नुपर्ने अवस्था छ,’ माझीले दुखेसो पोखे।

सोही ठाउँका राकेशकुमार महतोको चार बिघा जमिन कोशीले बगाइदिएपछि अहिले उनी १० कट्ठा जग्गा भाडामा लिएर मल्चिङ प्रविधिबाट तरकारी खेती गरिरहेका छन्। जमिन र चरन क्षेत्र सकिएपछि गाईभैंसी पाल्न छाडेका महतो अहिले टिनको कटेरोमा गुजारा चलाउँदै छन्।

स्थानीयवासी अन्यत्र पलायन हुन थालेका छन्। केही परिवार झापा तथा सप्तकोसीपारि पूर्वतर्फको प्रकाशपुर सरिसकेका छन्। स्थानीय बालीचरण कविरथ पनि प्रकाशपुरमा एक कट्ठा जग्गा जोडेर सर्ने तयारीमा छन्। २०७४ मा पहाडबाट झरेका पदम राईले नदी बर्सेनि बस्ती नजिक आउँदा वर्षभरिको मिहिनेत बग्ने चिन्ता बढेको बताए।

उदयपुरको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार सप्तकोशीले बिस्तारै पश्चिमतर्फ धार मोड्ने संकेत देखाएको छ। बलौटे माटो भएकाले तारजाली र ढुङ्गासहितको संरचनासमेत नदीले बगाइरहेको र पश्चिमतर्फ बाक्लो बस्ती रहेकाले जोखिम झन् भयावह बन्दै गएको उनले चेतावनी दिए।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कटान नियन्त्रण स्थानीय तहको क्षमताभन्दा बाहिर गइसकेको बताए। विस्थापित परिवारलाई तत्कालका लागि प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराएको जानकारी दिँदै उनले यो समस्या राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गरे। ‘नगरपालिकाको सीमित स्रोतसाधनले सप्तकोशी जस्तो शक्तिशाली नदी नियन्त्रण गर्न सम्भव छैन,’ नगरप्रमुख कार्कीले भने, ‘यसको दीर्घकालीन समाधानका लागि वैज्ञानिक अध्ययन, सङ्घीय सरकारको ठूलो बजेट र आवश्यक परे छिमेकी मुलुक भारतसँग कूटनीतिक पहलसमेत तत्काल थालिनुपर्छ।’

करिब तीन हजार जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकको मुख्य पेसा कृषि र पशुपालन हो। हरेक वर्ष असारदेखि सुरु हुने बाढी र कटानको स्थायी रोकथामका लागि बलियो तटबन्ध र ड्याम निर्माण नगरिए हजारौं नागरिक घरबारविहीन हुने जोखिम देखिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार