महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार सरकारी अस्पतालका गोदाममा ९ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरका औषधि म्याद सकिएका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले यो तथ्य उजागर गरेको हो।
प्रतिवेदनअनुसार, स्वास्थ्य सेवा विभागले खरिद गरेका २८ प्रकारका औषधिको म्याद सकिएको छ। यसको मूल्य ४ करोड ७२ लाख २० हजार रुपैयाँ रहेको छ। त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले किनेका ६ प्रकारका औषधिको म्याद पनि सकिएको छ। यसको मूल्य ४७ लाख ७० हजार रुपैयाँ छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा खरिद गरिएका ६०१ प्रकारका औषधिको म्याद सकिएको पाइएको छ। यसको मूल्य १ करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको १ करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरको औषधिको पनि म्याद सकिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको १ करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरको औषधिको म्याद पनि सकिएको छ।
स्वास्थ्य संस्थाले खरिद गरेको औषधिको म्याद सकिएमा, टुटेफुटेमा वा अधिक मौज्दात रहेमा आपूर्तिकर्ताले प्रतिस्थापन गर्नुपर्छ। तर, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूले उक्त शर्त पालना नगर्दा गोदाममै करोडौँका औषधि थन्किएर म्याद सकिएको महालेखाले औँल्याएको छ।
