सर्लाहीका उखु किसान खेतीको समयमा आवश्यक मलखाद नपाउने र उत्पादन बिक्री गरिसकेपछि पनि समयमा भुक्तानी नपाउने समस्याले थलिन थालेका छन्। यसले उखु खेतीको भविष्यमाथि प्रश्नचिन्ह खडा गरेको छ।
सर्लाहीको धनकौल गाउँपालिका, हटकटवा गाउँका ६० वर्षीय किसान रामदेव कुशवाहाले खेतीको सिजनमा मलको अभाव झेल्नुपरेको र उखु बिक्रीको भुक्तानी पनि समयमा नपाएको गुनासो गरे। उनले भने, ‘उखु रोप्ने बेलामा पनि मलको अभाव थियो, अहिले गोडमेल गर्ने समयमा पनि मल पाउन सकिरहेका छैनौं।’
सर्लाही जिल्ला नेपालमा उखु खेतीका लागि प्रमुख जिल्लाहरूमध्ये एक हो। जिल्लाका धनकौल, बसबरिया, रामनगर गाउँपालिका र गोडैता, बलरा नगरपालिका लगायतका क्षेत्रमा करिब ९५ प्रतिशत किसानले उखु खेतीमा निर्भर छन्। तर, उखु खेतीसँग जोडिएका मल अभाव, सिँचाइ समस्या, उचित मूल्य नपाउने र उद्योगबाट ढिलो भुक्तानी जस्ता समस्या वर्षौंदेखि जस्ताको तस्तै छन्।
किसानहरूका अनुसार चुनावका बेला नेताहरूले किसानका समस्या समाधान गर्ने प्रतिबद्धता त जनाउँछन्, तर व्यवहारमा कुनै परिवर्तन आउँदैन। धनकौलका किसान रामदेव कुशवाहाले भनेझैं, ‘हामी किसानहरू मारमा छौं। समयमा उखु रोप्दा मल पाइँदैन, उखु बिक्री गरेपछि मिलवालाले समयमा पैसा दिँदैन।’
गोडैता नगरपालिकाका किसान रामविलास यादवले सांसद अमरेश सिंहले चुनावका बेला मलको व्यवस्था गर्ने आश्वासन दिए पनि अहिले पनि आवश्यकताअनुसार मल नपाएको बताए। उनले बजारमा मल कालोबजारीमा १२०० देखि १८०० रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता रहेको र भारतबाट ल्याउन पनि नदिइएको गुनासो गरे। ‘सरकारले समयमा मल दिन सक्दैन, यस्तो अवस्थामा राम्रो उत्पादन कसरी हुन्छ?’ उनले प्रश्न गरे।
बलरा नगरपालिकाका किसान हरिभूषण सिंहले हालको मल वितरण प्रणालीप्रति असन्तुष्टि जनाए। ‘पहिले डिपो नहुँदा पनि समयमा मल पाइन्थ्यो, अहिले डिपोको व्यवस्था भएपछि झन् समस्या भएको छ। केही व्यक्तिले प्रशस्त मल पाउँछन्, सामान्य किसानले लाइन बस्दा पनि पाउँदैनन्,’ उनले भने। राम्रो उखु उत्पादन नभए उचित मूल्य पनि नपाइने र उखु खेती सङ्कटमा रहेको उनको भनाइ छ।
हरिभूषण सिंहले चिनी उद्योगबाट समयमै भुक्तानी नपाउनु अर्को ठूलो समस्या भएको बताए। ‘हामी ऋण लिएर खेती गर्छौं। उखु बिक्री गरेपछि पैसा आउँछ भन्ने आशा हुन्छ, तर उद्योगले समयमा भुक्तानी नगर्दा साहुको ऋण तिर्न पनि समस्या हुन्छ,’ उनले भने।
रामनगर गाउँपालिका–२ का किसान सिकिन्दर महतोले खेतीको मुख्य समयमा रासायनिक मलको अभाव हुनु किसानका लागि सबैभन्दा ठूलो समस्या भएको बताए। ‘समयमा मल नपाउँदा उखुको उत्पादन घट्छ। मलको अभावले हामी धेरै चिन्तित छौं,’ उनले भने। उनकी आमा रामसकिला देवी पनि मल अभावले निराश छिन्।
धनकौल गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर सहनीले मलको समस्या रहेको स्वीकार गर्दै यसको समाधानका लागि केन्द्र र प्रदेश सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए। ‘म पनि किसान हुँ। मलको समस्या छ, यो सत्य हो। यसको समाधान स्थानीय तहले मात्र गर्न सक्दैन,’ उनले भने।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पनि जिल्लामा मल अभाव रहेको स्वीकार गरे। उनले धानको बीउ छर्ने समयमा पनि किसानलाई आवश्यक मात्रामा मल उपलब्ध गराउन नसकिएको र उखु किसानलाई पनि मागअनुसार मल दिन नसकिएको बताए। ‘जति मल आउँछ, त्यसैलाई सबै किसानमा बाँड्नुपर्ने अवस्था छ,’ उनले भने।
धनकौल–२ का सितल सहनीले नीलगाई जस्ता वन्यजन्तुले अन्य बाली नष्ट गर्ने भएकाले उखु खेती गर्दै आएको बताए। ‘उखु खेती नै परिवारको मुख्य आम्दानीको स्रोत हो, तर खेतीसँग जोडिएका विभिन्न समस्याले किसानलाई निरुत्साहित बनाएको छ,’ उनले भने।
मधेस प्रदेशका सर्लाही, महोत्तरी, बारा र रौतहट जिल्लामा ठुलो क्षेत्रफलमा उखु खेती हुने गर्छ। उत्पादन बढाउनु त परै जाओस्, अहिले किसानहरू खेती जोगाउने चिन्तामा छन्। किसानहरूले समयमै मल उपलब्ध गराउने, चिनी उद्योगबाट समयमा भुक्तानी, उत्पादनको उचित मूल्य निर्धारण र कृषि क्षेत्रका समस्या समाधानका लागि दीर्घकालीन नीति माग गरेका छन्।
कृषि विज्ञ हृदयनारायण ठाकुरका अनुसार लागत बढ्ने तर आम्दानी सुनिश्चित नहुने अवस्था रहिरहेमा किसानहरूले उखु खेतीबाट अन्य विकल्प खोज्न बाध्य हुनेछन्, जसले गर्दा कृषि क्षेत्रमा देखिएको यो समस्याले उखु खेतीप्रतिको आकर्षण घट्दै जाने खतरा बढाएको छ।
