NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्वपश्चिम राजमार्ग निर्माणमा ढिलाइ: सिरहामा सडक अवरुद्ध, जनताको सास्ती

सिरहाको गोलबजारमा पूर्वपश्चिम राजमार्ग विस्तारमा भएको ढिलासुस्तीविरुद्ध स्थानीयले सडक अवरुद्ध पारेका छन्। ७ वर्षदेखि निर्माणाधीन कञ्चनपुर–कमला सडक खण्डको भौतिक प्रगति जम्मा ६८% मात्र छ, जसले गर्दा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ। आयोजनाको लागत सुरुवाती अनुमानभन्दा झन्डै ३ अर्ब रुपैयाँले बढेको छ।
Kamala Devi
Kamala Devi
29 May 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
Share:

सिरहाको गोलबजार नगरपालिका–४ स्थित निपनियामा पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध स्थानीयवासीले शुक्रबार बिहान सडक अवरुद्ध पारेका छन्। उनीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

स्थानीय नागरिक, व्यवसायी र नेताहरुले करिब साढे एक घण्टा राजमार्ग अवरुद्ध गरेपछि जनजीवन प्रभावित भएको थियो। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ ले ठेक्का लिएको यो सडक निर्माण कार्य ७ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ।

सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे हुने, विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने तथा पानी र हिलोका कारण विभिन्न रोग र छालासम्बन्धी समस्या बढ्दै गएको स्थानीय दिनेश नायकले बताए।

आन्दोलनपछि निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय तहका पदाधिकारीसँग समस्या समाधानका लागि बिहान १० बजे छलफल गर्ने सहमति भएपछि अवरुद्ध राजमार्ग खुलाइएको छ। स्थानीय नेता प्रमेश्वर साहले बैठकबाट सन्तोषजनक निष्कर्ष ननिस्के पुनः कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने लहान, गोलबजार, मिर्चैयालगायत बजार क्षेत्रमा सडक निर्माणले पूर्णता नपाउँदा नागरिकले सास्ती भोग्दै आएका छन्। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन कञ्चनपुर–कमला सडक खण्डको ८६.८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति आयोजना ६ वर्ष बितिसक्दा पनि अधुरै छ।

नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ असार ११ गते भएको सम्झौताअनुसार यो आयोजना २०८० कात्तिक ११ गतेभित्र सम्पन्न हुनुपर्ने थियो। तर, निर्माण कम्पनीको सुस्त कार्यशैली, वित्तीय समस्या, कोरोना महामारी, रुख कटानमा ढिलाइ तथा विद्युत् पोल सार्ने काम समयमा नहुँदा आयोजना पटक–पटक पछाडि धकेलिएको छ।

आयोजनाको म्याद यसअघि १४ महिना, त्यसपछि १२ महिना र पछिल्लो पटक थपिएको ६ महिनाको अवधि आगामी असार १६ गते सकिँदैछ। तर, हालसम्म आयोजनाको भौतिक प्रगति जम्मा ६८ प्रतिशत मात्रै पुगेको छ। अझै ३२ प्रतिशत काम बाँकी रहेकाले चौथो पटक पनि म्याद थपिन सक्ने अवस्था छ।

पूर्वी खण्ड सडक योजना कार्यालयका प्रमुख निरज शाक्यका अनुसार ३९.४२ किलोमिटरमध्ये २४.५८ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। पश्चिमी खण्डका सूचना अधिकारी अनुपमकुमार साहका अनुसार ४७.४१ किलोमिटरमध्ये ३५.६१ किलोमिटर सडकमा मात्र कालोपत्रे सम्पन्न भएको छ।

निर्माणमा भएको ढिलाइले राज्यलाई ठूलो आर्थिक भार थपेको छ। सुरुवाती लागतभन्दा झण्डै ३ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ। कुल १५ अर्ब ६६ करोड रुपैयाँ लागत रहेको परियोजनामा एडीबीको ७१.२२ प्रतिशत ऋण र नेपाल सरकारको २८.७८ प्रतिशत लगानी छ। एडीबी नेपाल निर्देशनालयका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठका अनुसार प्राविधिक निगरानी, परामर्शदाता सेवा विस्तार तथा साइट व्यवस्थापनमा भएको अतिरिक्त खर्चका कारण हालसम्म २ अर्ब ९७ करोड २२ लाख रुपैयाँ अर्थात् १८.९८ प्रतिशत लागत वृद्धि भएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार