थापाथलीबाट विस्थापित सबिना मल्ल बालाजुको सरकारी होटलमा ६ जनाको परिवारसहित ‘कैदीजस्तै’ बस्न बाध्य छिन्, जहाँ हुर्केबढेका छोराछोरीले एकै खाटमा सुत्नुपर्छ र नातीले रुन पनि पाउँदैन।
“हामी दुई बुढाबुढी छौँ। दुई छोरीमध्ये एउटी २५ र अर्को १८ वर्षका छन्। २० वर्षको छोरो छ। बिहे भएकी जेठी छोरीको बच्चो छ,” खबरहबसँग कुरा गर्दै उनले भनिन्, “हामी सबै एकै कोठामा बसेका छौँ। हुर्केबढेका छोराछोरीले एकै खाटमा सुत्नुपरेको छ। यो देख्दा मुटु खन्छ। एकदुई रात पो गुजारा हुन्छ, हामीले अझै कति यसरी बस्नुपर्ने होला?” रौतहटमा जन्मिएकी सबिना काम खोज्दै काठमाडौं आएकी थिइन्। गलैँचा कारखानामा काम गर्दै गर्दा उनले त्यहीँका कामदारसँग बिहे गरिन्। श्रीमानको मकवानपुरमा घर भएको भनिए पनि सम्पत्तिको नाममा जिल्लाबाट जारी नागरिकता मात्रै थियो।
जीविकोपार्जनका लागि काठमाडौं नै उत्तम थियो, र सुरुमा कोठा भाडामा बसेका उनीहरूले पछि थापाथली सुकुम्वासी बस्तीमा एक टुक्रा जमिन पाए। त्यहाँ बसेको २० वर्षमा दुई छोरी र एक छोरा जन्मिए। उनले होटलको बसाइलाई जेलभन्दा खराब बताउँदै भनिन्, “न उमेर पुगेका न बच्चा कसैलाई पनि मिलाउन सकेको छैन। ठूला केटाकेटीले कुरा बुझ्छन्, चुप लाग्छन्। तर बच्चोलाई कसले बुझाइदिने? खेल्ने ठाउँ नपाउँदा आत्तिएर रुन्छ।”
सबिनाका अनुसार, निर्दोष बच्चाले होटेलको कोठामा मन खोलेर रुन पनि पाएको छैन। “बच्चा रुँदा डिस्टर्ब भयो भनेर अर्को कोठाकाले गुनासो गरेका छन्। सरकार कति निर्दयी रहेछ, होटलको कोठाभित्र यसरी राख्नुभन्दा बरु जेलमै लगेर राखे हुन्छ।” सुरुका पाँच दिन राम्रै खाना पाए पनि अहिले खानामा हेलचेक्र्याईँ भएको उनको गुनासो छ। “पिठो घोलेको दाल खुवाएका छन्। बासी खुवाएका छन्। होटलवालाले समेत हामीलाई मान्छे गनेनन्,” उनले भनिन्।
आफ्नो टहरो भत्किएको दिन सबिनालाई त्यति दुख लागेको थिएन। बालेन सरकारले राम्रै व्यवस्थापन गर्ला भन्ने उनलाई विश्वास थियो। प्रधानमन्त्रीले पनि खोलाको छेउ बर्खामा सधैँ डराएर बस्नुपर्ने बाध्यताबाट जोगाउन खोजिएको बताउनुभएको थियो। तर, दिन बित्दै जाँदा सरकारले आफूहरूलाई बेवास्ता गरेको उनको अनुभव छ। “होटलको कोठामा परिवारको जिविको कति दिन चल्छ? होटलमा एकदुई रात पो बस्न सकिन्छ। दिन बित्दै जाँदा पट्यार लाग्ने र निस्सासिने हुँदो रहेछ,” उनले भनिन्।
उनले आफ्ना बच्चाले पढ्न नपाएको दुखेसो पनि गरिन्। “सबैका छोराछोरी स्कुल गएका छन्। हाम्रा छोराछोरीले पढ्नु पर्दैन? सुकुम्वासीका छोराछोरीले पढ्नु पर्दैन? किताबकापी खै? ड्रेस खै, स्कुल खै? घरबारविहीन केटाकेटीको मनस्थिति कस्तो छ? उनीहरुले कसरी पढ्छन्? यी कुराको व्यवस्थाबिना किन हाम्रा टहरामा डोजर चलाइयो?” पहिलेका सरकारले पनि सुकुम्वासी बस्ती खाली गर्ने भनेको भए पनि यसपटक नयाँ सरकारले ‘ललिपप देखाएर र सपना बाँडेर’ सजिलै टहरा छोड्न लगाएको उनको भनाइ छ, तर व्यवस्थापनमा भने सरकारले एउटा सिन्को पनि नभाँचेको उनको आरोप छ।
सरकारप्रतिको अविश्वास र होटलमा बस्न नसकेपछि सबिना अहिले शहरमा कोठा खोज्न हिँड्न थालेकी छिन्। उनको पूरै परिवार कोठा खोज्न लागेको छ, तर परिवार ठूलो भएको भनेर कसैले पनि भाडामा दिएका छैनन्। “सरकारले यसरी राख्छ भन्ने थाहा पाएको भए कस्सम छाती थाप्थेँ, तर टहरामा डोजर चलाउन दिन्नथेँ,” उनले भनिन्। थातथलो नै उठिबास लगाएर सरकारले सुकुम्बासीप्रति अन्याय गरेको उनको ठहर छ। उनले चेतावनी दिँदै भनिन्, “सरकारले हामीभित्र आक्रोश उब्जिन नदियोस्। अन्तिमसम्म पनि बालेनले गर्छ भन्नेमा छौँ। अरु सरकार भएको भए हामी बस्ती छोड्दैनथ्यौँ। उसैको मुख हेरेर छोडेका हौँ। उसैलाई भोट हाल्यौँ। अब उसैलाई मुर्दावाद भन्दै सडकमा आउने वातावरण नआओस्।”
