सुनसरीको देवानगन्जमा युवतीको विषयलाई लिएर भएको विवादमा गोली प्रहारबाट २४ वर्षीय निरजकुमार यादव घाइते भएका छन्। उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ।
शनिबार साँझ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो। कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेका उनको आइतबार शल्यक्रिया सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगन्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिको तीव्र रूपमा खोजी गरिरहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार, घटनाको मुख्य कारण एउटी युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवाद र पुरानो रिसइबी रहेको खुलेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
