NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सूर्योदयका ५३ चिया उद्योग बन्द: हजारौं किसान र श्रमिकको भविष्य अन्योलमा

इलामका ५३ चिया उद्योगले असार १ देखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेका छन्। भारतीय बजारमा नेपाली चियाको गुणस्तर परीक्षणमा झन्झटिलो नियम लागू भएपछि निर्यातमा अवरोध आएको छ। उद्योग बन्द हुँदा हजारौं किसान, श्रमिक र उनीहरूका परिवारको रोजिरोटी संकटमा परेको छ।
Sunita Rai
Sunita Rai
14 June 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
चिया उद्योग बन्द
Share:

इलामको सूर्योदय नगरपालिकाका ५३ चिया उद्योगले असार १ देखि अनिश्चितकालका लागि बन्दको घोषणा गरेपछि हरियो चियापत्ती उत्पादक किसान त्रसित भएका छन्। चियाको मुख्य सिजनमै उद्योग बन्द हुँदा प्रशोधन नपाएर हरियो मुना खेर जाने र किसानको आम्दानीको स्रोत गुम्ने त्रास फैलिएको छ।

सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालमा आबद्ध उद्योगहरूले किसानबाट दैनिक हरियो चियापत्ती खरिद गरी प्रशोधन गर्दै आएका छन्। असार १ देखि उद्योग बन्द भएपछि करिब ३ हजार किसानले चियापत्ती कहाँ बेच्ने भन्ने अन्योलमा परेका छन्। सूर्योदय नगरपालिका १४, लक्ष्मीपुरका करिब २०० किसानले सहकारीमार्फत महिनामा ५० हजार किलोभन्दा बढी हरियोपत्ती लक्ष्मी टि स्टेटमा बिक्री गर्ने गरेको तथ्यांक छ।

किसानहरूले सरकारले चिया निर्यातमा सहजीकरण नगरेको र भारतीय बजारमा नेपाली चियाको अवरोध हटाउन पहल नगरेको गुनासो गरेका छन्। तयारी चियाको बिक्री सहज नहुँदा उद्योगीहरूले किसानलाई भुक्तानी दिन नसक्ने अवस्था आएको छ। यसले किसानको जीविकोपार्जनमा गम्भीर संकट निम्त्याएको छ।

भारतीय चिया बोर्डले मे २०२६ मा लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रिया (एसओपी) का कारण नेपाली चिया भारत निर्यातमा समस्या आएको उद्योगीहरूको भनाइ छ। गुणस्तर परीक्षणको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल चिया बिक्री गर्न नपाइने तथा परीक्षणमा फेल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ। यसका कारण ३ लाख किलोभन्दा बढी नेपाली चिया भारतीय बजारमा अलपत्र परेको छ भने ७ लाख किलोभन्दा बढी तयारी चिया उद्योगमा थुप्रिएको छ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार उद्योगमा प्रशोधित चियाको भण्डारण गर्ने ठाउँसमेत भरिएको छ। किसानलाई भुक्तानी दिनुपर्ने बाध्यताले गर्दा बजार नभएको तयारी चिया प्रशोधन गरिरहनुको सट्टा उद्योग बन्द गर्नुको विकल्प नभएको उनले बताए। चैत र वैशाखमा उत्पादन भएको उच्च गुणस्तरको चिया यही सिजनमा बेच्नुपर्ने हो।

यस समस्या समाधानका लागि सांसद सुहाङ नेम्बाङले प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयलगायतका निकायलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्। उनले नेपाली चियाको निर्यात अवरोध हटाउन, रोकिएका चियाको परीक्षण गरी बिक्री अनुमति दिन, उद्योगीलाई अनावश्यक खर्चबाट जोगाउन र वैकल्पिक बजार विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। सांसद निस्कल राईले पनि प्रतिनिधिसभामा यो विषय उठाई सरकारले किसान र उद्योगीको कुरा नसुनेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार