तिब्बतको केरुङ क्षेत्रमा गएको बाढी र पहिरोमा ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ अधिकारीहरूका अनुसार बेपत्ता हुनेहरूमा २३ देशका २६१ विदेशी नागरिक छन्।
बेपत्ता हुनेमा १०४ नेपाली नागरिक सबैभन्दा बढी छन्। चिनियाँ राज्य–नियन्त्रित टेलिभिजन (CCTV) ले सार्वजनिक गरेको तथ्यांक अनुसार, भारतका ४९, लात्भियाका ३३, अमेरिकाका १८, बेलायतका १५, क्यानडा र अष्ट्रेलियाका ६–६ जना रहेका छन्। दक्षिण अफ्रिकाका चार, मलेसिया, जर्मनी र रुसका ३–३ जना छन्। आयरल्यान्ड, एस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्डका २–२ जना तथा फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हङ्गेरीका एक–एक जना बेपत्ता छन्।
चीन सरकारले यो तथ्यांक विदेश मन्त्रालय, जनसुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायहरूको संयुक्त छानबिनपछि सार्वजनिक गरेको हो। चीनले सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगहरूलाई यसबारे जानकारी गराइसकेको छ।
हालसम्म १६ जनाको मृत्यु पुष्टि भएको छ। सञ्चार सम्पर्क विच्छेद र सडक ध्वस्त भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। चिनियाँ अधिकारीहरू ड्रोन प्रविधि र उद्धार टोलीमार्फत रातदिन खोजी कार्य जारी राखेका छन्।
