NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मन्त्रीको गाडी रोक्न सडकमै सुते स्थानीय, सडक मर्मतको माग

विराटनगरमा वर्षौंदेखि जीर्ण सडक मर्मत नभएपछि स्थानीयवासी आन्दोलित भएका छन्। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको गाडी सडकमै सुतेर रोकी विरोध प्रदर्शन गरेका छन्। ओभरलोड सवारी साधन नियन्त्रण र सडकको दिगो मर्मत नभए थप आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।
Kamala Devi
Kamala Devi
11 June 2026, 2:17 pm १ मिनेट पढाइ
आकार:
विराटनगर सडक मर्मत
Share:

विराटनगर । १५ करोडको सरकारी सडक जीर्ण हुँदा दैनिक दुर्घटना बढेपछि स्थानीयवासी आन्दोलित भएका छन्। सडकको बिजोग हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै बिहीबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको गाडी सडकमै सुतेर रोक्ने काम भयो।

विराटनगरको पुष्पलाल चोक–तिनपैनी सडक खण्डको ल क्याम्पस अगाडि वडा नं. १ र ३ का बासिन्दाले ढाट लगाएर सडक अवरुद्ध गरे। उनीहरू मन्त्रीको गाडी रोक्न सडकमै पल्टिएका थिए। दैनिक यही सडक प्रयोग गर्ने मन्त्रीले जनताको सास्ती नदेखेको भन्दै स्थानीयले गाडी घेराउ गरे।

‘हामीलाई राजनीतिक आश्वासन होइन, ज्यान जोगाउने सडक चाहिएको हो,’ स्थानीय डम्बर दाहालले भने। ‘सम्बन्धित निकायमा धाउँदा कसैले सुनेन। बाध्य भएर सडकमै सुतेर मन्त्रीको गाडी रोक्नुपरेको हो।’

स्थानीयका अनुसार सडकमा दैनिक दुईदेखि चार वटासम्म सवारी दुर्घटना हुन्छन्। ठूला खाल्डाले सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ।

सडक बिग्रिनुको मुख्य कारण ओभरलोड सवारी साधन हो। बालुवा, गिट्टी बोकेका टिपर दैनिक सयौँको सङ्ख्यामा गुड्छन्। ओभरलोड नियन्त्रणमा सरकारी निकाय र ट्राफिक प्रहरीले प्रभावकारी भूमिका खेलेको छैन।

यो सडक विराटनगर महानगरपालिकाको क्षेत्राधिकारमा पर्छ। आर्थिक वर्ष २०८१ को अन्त्यतिर महानगरले मर्मत गरे पनि कमसल सामग्री प्रयोगले केही समयमै सडक पुरानै अवस्थामा पुगेको थियो।

सडक मर्मतको माग राख्दै स्थानीयवासी महानगरका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीलाई भेट्न पुगेका थिए। मेयर कोइरालासँग स्थानीयको चर्काचर्की भएको थियो।

मेयर कोइरालाले निर्माण सामग्रीको मूल्य बढेकोले ठेकेदार पुरानै दररेटमा काम गर्न नमानेको बताए। सडक मर्मतको काम अघि बढाउन चुनौती रहेको उनको भनाइ थियो।

स्थानीय सडकमै सुतेर मन्त्रीको गाडी रोक्दै चक्काजाममा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोली घटनास्थल पुगेको थियो। प्रहरीले छलफल गरी सडक खुलाउन आग्रह गरेपछि अवरोध हटेको थियो।

मोरङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले केहीबेर अवरोध भए पनि खुलाइएको बताए। ‘डिएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले सम्झाइ बुझाइ गरेपछि स्थानीयले बाटो खुलाए,’ मिश्रले भने।

ओभरलोड सवारी साधन नियन्त्रण र सडकको दिगो मर्मतमा तत्काल कदम नचालिए थप आन्दोलन गर्ने स्थानीयवासीले बताएका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार