राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। किसानको मुस्कानमा राष्ट्रको खुशी लुकेको र किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको उनको भनाइ छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रलाई जीविकोपार्जनको माध्यम मात्र नभई राष्ट्र निर्माणको प्रमुख आधारशिलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले श्रम गर्ने संस्कृतिको विकास, किसानको मेहनत र समर्पणले देशको अर्थतन्त्र चलायमान बनेको उल्लेख गर्दै राज्य, निजी क्षेत्र र सरोकारवाला निकायहरू एकजुट भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण र युवा सहभागिता अभिवृद्धि गर्नुपर्ने औंल्याए।
राष्ट्रपति पौडेलले युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्ने बताए। यसका लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण र आधुनिकीकरण आजको आवश्यकता भएको उनको भनाइ थियो।
उनले विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्ने बताए। कृषकको उपजहरूको बजारीकरण, समयमा बीउबिजन र मलको आपूर्ति, कृषकका समस्याको पहिचान र व्यवस्थापन, नवीनतम औजार उपकरणको पहिचान र व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू जल्दाबल्दा रहेको उनले उल्लेख गरे।
कार्यक्रममा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना कृषकलाई जनही दुई लाख रुपैयाँ, प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गरे।
