नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जनालाई बयानका लागि बोलाउन माग गर्दै जिल्ला अदालत काठमाडौँमा बिहीबार निवेदन दर्ता भएको छ।
अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले ओली, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई, कांग्रेस नेतृ आरजु देउवा, मञ्जु खाण र राजेश बज्राचार्यलाई बयानमा बोलाउनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका हुन्।
यी व्यक्तिहरूले रकम बुझेको भनी दिएको अडियो र भिडियो प्रमाणसहितको निवेदन मिसिलमा संलग्न छ। अधिवक्ता नेपालले उक्त निवेदनमा केन्द्रित भएर शुक्रबार अदालतमा बहस हुने बताए।
जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा छ। नक्कली कागजात तयार पारी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको अभियोगपत्रमा दाबी छ।
सङ्गठित अपराधसहित पाँच अभियोगमा मुद्दा दायर भएको झण्डै तीन वर्षपछि जिल्ला अदालतमा पेसी चढेको हो। २०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।
