सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।
अख्तियारले केन्द्रका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, इन्जिनियर अशोककुमार सिंह र सहायक सब–इन्जिनियर प्रमोदकुमार सिंहलाई प्रतिवादी बनाएको छ।
यसैगरी, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्याकुमारी रजकविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
अख्तियारले प्रतिवादीहरूसँग जनही १ करोड २६ लाख ९६ हजार २३८ रुपैयाँ ७१ पैसा बिगो मागदाबी गरेको छ।
