दैलेखको भैरवी गाउँपालिका–१ स्थित छामघाट खोलामा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका तीन जेसीभी र दुई ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ। बागलुङको कालीगण्डकी नदीबाट अवैध उत्खनन र ओसारपसारमा संलग्न पाँच सवारीसाधन पनि प्रहरी नियन्त्रणमा परेका छन्।
दैलेखमा खोलाभित्रै प्रवेश गरी ढुङ्गा, गिटी र बालुवा उत्खनन भइरहेको सूचनापछि अस्थायी प्रहरी पोष्ट जलजलेको टोलीले कारबाही गरेको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार स्वीकृत क्षेत्रबाहिर उत्खनन भइरहेको अवस्थामा उपकरण र सवारी नियन्त्रणमा लिइएको हो। प्रहरीले उत्खनन रोकी जेसीभी र ट्रिपर नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएका उपकरण र सवारीसाधन भैरवी गाउँपालिकालाई बुझाइएको थियो। गाउँपालिकाले प्रारम्भिक छानबिनपछि सम्बन्धित पक्षबाट ३५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ। स्थानीय तह र प्रशासनले मापदण्ड लागू गरे पनि जिल्लाका विभिन्न खोलामा अवैध उत्खनन रोक्न चुनौती छ। लोहोरे, छामघाट र पादुका क्षेत्रमा अनियन्त्रित उत्खननले नदीको स्वरूप बिगारेको छ।
अवैध उत्खननले नदीको बहाव परिवर्तन, वातावरणीय क्षति र राजस्व चुहावटजस्ता समस्या निम्त्याउँछ। जिल्ला प्रशासन कार्यालय दैलेखले स्थानीय तहसँग उत्खनन विवरण माग गरी अनुगमन कडा पारेको छ। मापदण्डविपरीत उत्खनन गरे कडा कारबाही गरिने चेतावनी दिइएको छ। प्रहरी र स्थानीय तहले संयुक्त अनुगमनलाई निरन्तरता दिनेछन्।
बागलुङमा प्रहरीले नदी आसपास र सडकखण्डमा जाँच गर्दा पाँच सवारीसाधन नियन्त्रणमा लिएको हो। अवैध बालुवा उत्खनन र ढुवानीमा संलग्न दुई टिपर र तीन ट्याक्टर बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।
नियन्त्रणमा लिइएका सवारीसाधन कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइएको छ। प्रहरी नायब उपरीक्षक त्वातीका अनुसार अवैध उत्खनन र ओसारपसारमा संलग्न सवारीसाधनलाई नगरपालिकाले जरिवाना गर्नेछ। प्रहरीले अवैध उत्खनन थाहा पाउनासाथ नियन्त्रणमा लिने जनाएको छ।
