अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी पाँच वर्षभित्र युवाले विदेशिनुपर्ने बाध्यता अन्त्य हुने बताएका छन्। काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा उनले आगामी बजेटले युवालाई स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने बताए।
युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटबाट नीतिगत पहल सुरु भएको छ। यसको कार्यान्वयनले सकारात्मक बाटो समात्ने विश्वास उनले व्यक्त गरे। देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै वाग्लेले कर सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेशन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणमा नयाँ मार्ग प्रशस्त गर्ने बताए।
बजेटमा रु. एक लाखसम्म कमाउने युवालाई कर सहुलियत दिइएको छ। यसले उनीहरूलाई करको झन्झटबाट मुक्ति दिनेछ। अर्थमन्त्री वाग्लेले यसको फाइदा लिन युवा उद्यमीलाई आग्रह गरे। बजेट निर्माण गर्दा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी कार्यक्रम घोषणा भएको उनले जानकारी दिए।
