सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि करिब १६ सय नयाँ टेलिफोन टावर तथा पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको बताए। प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा कमजोर दूरसञ्चार र इन्टरनेट सेवाको गुनासो सम्बोधन गर्न मन्त्रालय गम्भीर रहेको जनाए।
आगामी आर्थिक वर्षमा नेपाल टेलिकममार्फत मन्त्रालयको बजेटभन्दा बढी रकम दूरसञ्चार सेवा विस्तार र स्तरोन्नतिमा लगानी हुनेछ। नेपाल टेलिकमले मात्रै छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ। हाल देशभर चार हजार ८२९ साइट सञ्चालनमा छन्। कोशीमा ७६०, मधेशमा ५६८, बागमतीमा एक हजार २७७, गण्डकीमा ५९९, लुम्बिनीमा ८१९, कर्णालीमा ३०५ र सुदूरपश्चिममा ५०१ साइट कार्यरत छन्।
सेवाको पहुँच र गुणस्तरका आधारमा थप पूर्वाधार आवश्यक रहेको अध्ययनले देखाएको छ। कोशीमा २५७, मधेशमा २२८, बागमतीमा ३८९, गण्डकीमा ७६, लुम्बिनीमा २००, कर्णालीमा १२१ र सुदूरपश्चिममा १७२ गरी देशभर एक हजार ४४३ नयाँ साइटको आवश्यकता पहिचान गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको मूल्याङ्कनअनुसार यी साइट सञ्चालनमा आएपछि देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँचमा उल्लेख्य सुधार हुनेछ। मन्त्री तिमिल्सिनाले आवश्यकताभन्दा बढी पूर्वाधार निर्माण लक्ष्य गरी करिब १६ सय साइटका लागि खरिद प्रक्रिया अघि बढाउन लागिएको बताए।
दूरसञ्चार उपकरणको अधिकांश सामग्री विदेशबाट खरिद गर्नुपर्ने भएकाले केही समय लाग्नेछ। मन्त्रालयले सेवा प्रदायक संस्थासँग समन्वय गरी समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ। जनगुनासोप्रति सरकार संवेदनशील रहेको र नागरिकले गुणस्तरीय सञ्चार सेवा प्राप्त गर्ने सुनिश्चितताका लागि तीव्र गतिमा काम भइरहेको मन्त्री तिमिल्सिनाले बताए।
