लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले शपथ गराए।
दीपेन्द्रकुमार पुन स्वास्थ्य मन्त्री बनेका छन्। इन्द्रजीत थारू आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। कृष्णा कुश्मा थारूले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन्। यी तीनै जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हुन्।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर र उपसभामुख मेनुका खाँडकेसी उपस्थित थिए।
साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्य प्रक्रिया अघि बढेको थियो। मन्त्रिपरिषद् पुनर्गठन नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेकपाबाट तीन र जसपाबाट दुई मन्त्री रहने सहमति अनुसार भएको हो।
अन्य प्रस्तावित मन्त्रीमा तुलसीप्रसाद चौधरी (वन, वातावरण तथा पर्यटन), रामजीप्रसाद घिमिरे (सामाजिक विकास), सन्तोषकुमार पाण्डेय (सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी), रत्नबहादुर खत्री (भौतिक पूर्वाधार विकास) र भण्डारीलाल अहिर (आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात) छन्।
