सुनसरीको रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत तेज नारायण यादवको कार्यकक्षमा स्थानीयले तालाबन्दी गरेका छन्। भूमि व्यवस्थापनतर्फ करार सेवामा सहायक कम्प्युटर अपरेटर पदपूर्तिका लागि सञ्चालित लिखित परीक्षाको नतिजा विवादित बनेपछि यो कदम चालिएको हो।
गत आइतबार सञ्चालित परीक्षाको नतिजा सार्वजनिक भएपछि स्थानीय आक्रोशित भएका हुन्। नतिजामा नाम प्रकाशित भएकामध्ये अधिकांश जनप्रतिनिधिका आफन्त रहेको आरोप स्थानीयले लगाएका छन्। उनीहरूले परीक्षा र छनोट प्रक्रिया निष्पक्ष नभएको भन्दै तत्काल नतिजा रद्द गर्न माग गरेका छन्।
सोमबार नगरपालिका पुगेका स्थानीयलाई नगर उपप्रमुख तारा थापाले परीक्षा रद्द गर्ने प्रतिबद्धता जनाएकी थिइन्। तर, परीक्षा रद्द गर्न कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने व्यवस्था छ। नगर प्रमुख चौधरीले फोन नउठाएको र प्रमुख प्रशासकीय अधिकृत यादव काठमाडौं गएको भन्दै स्थानीयले मंगलबार दुवैको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
स्थानीय भीम लुइँटेलका अनुसार उपप्रमुखले परीक्षा रद्द गर्ने वचन दिए पनि कार्यपालिका बैठक बस्न नसकेपछि बाध्य भएर तालाबन्दी गरिएको हो। नगरपालिकाले सोमबार नै सूचना निकालेर मौखिक परीक्षा तत्काललाई स्थगित गरेको छ। तर, लिखित परीक्षाको नतिजा भने रद्द गरेको छैन।
नगर उपप्रमुख थापाले समस्या समाधानका लागि आफू कार्यकक्षमै बसेर निरन्तर छलफलमा रहेको जानकारी दिइन्। नगर प्रमुख चौधरी र प्रमुख प्रशासकीय अधिकृत यादव भने कार्यालयमा उपस्थित छैनन्।
