युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शुभकामना सन्देशको जवाफ दिएका छन्। जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा नेपालले दिएको समर्थनप्रति आभार व्यक्त गरे।
राष्ट्रपति पौडेलले सोमबार जेलेन्स्कीलाई शुभकामना सन्देश पठाएका थिए। सन्देशमा पौडेलले जेलेन्स्कीको स्वास्थ्य र युक्रेनी जनताको समृद्धिको कामना गरेका थिए।
पौडेलको सन्देशपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत नेपालको समर्थनप्रति कृतज्ञता व्यक्त गरे।
जेलेन्स्कीले लेखे, ‘युक्रेनको स्वतन्त्रता दिवसमा न्यानो शुभकामनाका लागि धन्यवाद, राष्ट्रपति पौडेल। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सीमाभित्र युक्रेनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताका लागि नेपालको समर्थन तथा दुई देशबिचको मित्रतालाई हामी उच्च मूल्य दिन्छौं।’
युक्रेनले यस वर्ष आफ्नो ३५औं स्वतन्त्रता दिवस मनाएको हो। सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको युक्रेनले २४ अगस्टलाई स्वतन्त्रता दिवस मनाउँछ। युरोपेली संघले पनि युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति समर्थन दोहोर्याएको छ।
रूससँग युद्धरत युक्रेनले स्वतन्त्रता दिवसमा विभिन्न देशहरूबाट समर्थन पाएको छ। यस अवसरमा युक्रेन पुगेका युरोपेली नेताहरू समक्ष राष्ट्रपति जेलेन्स्कीले शान्ति चाहे पनि आत्मसमर्पण नगर्ने अडान दोहोर्याए।
