चीनको तिब्बतमा हिमताल फुट्दा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनतर्फ बहेको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। इतिहासकै दुर्लभ यो विपत्तिका कारण दर्जनौँ बस्ती बगाएको छ। ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएका छन्।
बाढीले पुर्याएको क्षतिबारे विभिन्न राजनीतिक दलका नेताहरूले संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उद्धार र राहतमा साझा प्रतिवद्धता जनाएका छन्। विपद् सामना गर्न एकजुट हुने उनीहरूको भनाइ छ।
नेपाल र चीनबीच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी र प्रभावित क्षेत्रको मौसमी अवस्थाबारे चिनियाँ पक्षसँगको छलफलपछि यो सहमति भएको हो।
नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसहित जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकाय (सिएमए) का अधिकारीबीचको भर्चुअल बैठकमा मौसम गतिविधि र पूर्वानुमानमा सहकार्य गर्ने सहमति भएको छ।
विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढी तथा मौसमी अवस्थाबारे छलफल भएको बताइन्। चिनियाँ पक्षले प्रभावित क्षेत्रको मौसमी विवरणमा सहकार्य गर्ने सहमति जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार नेपाल र चीन दुवैतर्फ भारी वर्षा भएको छैन। हिमताल विस्फोट, पहिरो वा नदी थुनिएर बाढी आएको हुनसक्ने सम्भावना रहे पनि आधिकारिक पुष्टि नभएको उनले बताइन्। यस विषयमा थप अध्ययन आवश्यक छ।
चिनियाँ पक्षको प्रारम्भिक धारणा तिब्बततर्फ ठूलो वर्षा नभएको र वर्षाका कारण बाढी आएको पर्याप्त आधार नभएको छ। चीनतर्फको भूभागमा जोखिम देखिएमा तत्काल जानकारी गराउने सहमति भएको प्रवक्ता पोखरेलले बताइन्।
