रसुवा भन्सार कार्यालय हुँदै पैठारीका लागि कागजात जारी भई ढुवानीमा रहेका सामानलाई वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न दिइने भएको छ। भन्सार विभागले बुधबार आएको बाढीले रसुवा नाका प्रभावित पारेपछि यो निर्णय गरेको हो।
वैकल्पिक नाका प्रयोग गर्न चाहने पैठारीकर्ताले सम्बन्धित बैंकमा सम्पर्क गरी भन्सार बिन्दु परिवर्तन गराउनुपर्नेछ। भुक्तानी माध्यममा उल्लेख भएको बिन्दु सट्टा नयाँ बिन्दु कायम गरी सोही स्थानबाट वस्तु घोषणा तथा जाँचपास गर्न सकिनेछ।
यो व्यवस्था प्रतीतपत्र (एलसी), ड्राफ्ट, टीटी लगायतका भुक्तानी माध्यमबाट पैठारी गर्दा समेत लागू हुनेछ। भन्सार बिन्दु परिवर्तन गर्न अन्य निकायको अनुमति वा सिफारिस आवश्यक नपर्ने विभागले स्पष्ट पारेको छ।
