NM Khabar 29 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विपद् प्रभावित हरेक परिवारसँग राज्य छ: प्रधानमन्त्रीको २० बुँदे विवरण

प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाबारे २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले हरेक परिवारको साथमा राज्य रहेको प्रतिबद्धता जनाएका छन्। विवरणमा १५,४३१ सुरक्षाकर्मी परिचालन, ४,४५१ जनाको उद्धार र ३२ ट्रक राहत सामग्री पठाइएको उल्लेख छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
29 August 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
बालेन विपद् प्रगति विवरण
Share:

विपद्बाट प्रभावित हरेक परिवारको साथमा राज्य छ भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन्। उनले रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका कामबारे २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।

सरकारका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका १५ हजार ४३१ सुरक्षाकर्मी रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालन भएका छन्। हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। यसमा जलविद्युत् सुरुङबाट १९१ जना र हवाई उद्धारबाट ५१७ जनाको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी ९९ वटा हवाई उडान भएका छन्।

प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम पनि जारी छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ।

सुरुङमा फसेकाको उद्धारलाई उच्च प्राथमिकता

प्रधानमन्त्रीका अनुसार अपर त्रिशूली जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् केन्द्रमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। अन्य जोखिमयुक्त सुरुङमा समेत खोज तथा उद्धार जारी छ। आवश्यक विशेष उद्धार उपकरण परिचालन गरिएको छ। बेपत्ता नागरिकको खोजी तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी भइरहेको छ।

विदेशी नागरिकको खोज, उद्धार र पहिचानका लागि विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको विवरणमा उल्लेख छ। परराष्ट्र मन्त्रालयले आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरी दूतावास र परिवारसँग समन्वय गरिरहेको छ। विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर समन्वय भइरहेको बताएका छन्।

दुई लाखभन्दा बढीलाई एसएमएस अलर्ट

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई निरन्तर निगरानीमा राखिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना दिने र नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी छ। प्रधानमन्त्रीका अनुसार दुई लाखभन्दा बढीलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको छ।

सडक सम्पर्क पुनःस्थापनाको काम तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याएर साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन्। काठमाडौं–मुग्लिन सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। रसुवालाई समेत वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालसँग जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्प्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीका लागि सञ्चालनमा आएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माण सुरु गरिएको छ। भारत र चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेलीब्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।

खानेपानीदेखि विद्युत् र दूरसञ्चारसम्म पुनःस्थापना

प्रभावित क्षेत्रमा खानेपानी, इन्धन तथा सरसफाइको व्यवस्था मिलाइएको छ। नुवाकोटमा चारवटा खानेपानी ट्यांकर परिचालन गरिएको छ। सुरक्षित खानेपानीका लागि ९०० किलो ब्लिचिङ पाउडर पठाइएको छ। नुवाकोटका आयल स्टोरमा ४१ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र १७ हजार लिटर हवाई इन्धन मौज्दात छ।

बाढीबाट सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनामा भएको क्षतिको विस्तृत मूल्यांकन सुरु भएको छ। यसका लागि १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ। दूरसञ्चारतर्फ १९८ टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ साइट सञ्चालनमा छन्। नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ। धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि काम भइरहेको छ।

स्वास्थ्य सेवाका लागि अस्पताल ‘स्ट्यान्डबाइ’

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ। आवश्यक औषधि तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपत्कालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ। रोग निगरानी तथा मातृ–बाल स्वास्थ्यसहित अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर राखिएको छ।

जोखिममा रहेका परिवारका लागि सुरक्षित बसोबास तथा आवतजावतको व्यवस्था अघि बढाइएको छ। आपत्कालीन आश्रयस्थलका लागि स्थान पहिचान तथा स्थानान्तरणको काम भइरहेको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा र नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको काम अघि बढाइएको छ।

प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख

राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ तत्काल उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ।

प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्ने काम अघि बढाइएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ। राहत, उद्धार तथा पुनःस्थापनामा सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारलाई समन्वय गरी स्रोतसाधन परिचालन भइरहेको छ।

रक्षाबन्धनको शुभकामना दिँदै प्रधानमन्त्रीले विपद्बाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। ‘यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्। सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकमै केन्द्रित रहेको र मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने तथा स्रोतसाधन परिचालन गर्ने गरी काम भइरहेको बताए।

यसै क्रममा प्रधानमन्त्रीले नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’मा जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा बधाई दिएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार