भोटेकोशी नदीको बाढीले रसुवा र नुवाकोटमा नौ जलविद्युत आयोजनाका ५३७ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार ८९८ जना सम्पर्कविहीन भएकामा ३६१ जनाको उद्धार गरिएको छ।
सबैभन्दा बढी प्रभावित दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना हो। यहाँ ५७६ जना सम्पर्कविहीन भएकामा २५४ जनाको उद्धार गरिएको छ। यस आयोजनाको सुरुङमा अझै ३०० जना श्रमिक फसेको आशंका छ। खोजी कार्य जारी छ।
रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट) बाट ९३ जना, रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट चार जना, लाङ्टाङ खोला जलविद्युत आयोजनाबाट ४२ जना (१८ जनाको उद्धार), चिलिमे हाइड्रोपावरबाट आठ जना, मैलुङ खोला हाइड्रोपावरबाट सात जना, त्रिशूली जलविद्युत आयोजनाबाट एक जना, देवीघाट जलविद्युत आयोजनाबाट एक जना, माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन्।
माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत आयोजनामा १२२ जना सम्पर्कविहीन भएकामा ९१ जनाको जीवितै उद्धार गरिएको छ। मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन्।
