रसुवाबाट भोटेकोशी नदीमा बाढीको ठूलो आवाज आएपछि बाढी पूर्वानुमान महाशाखाले देशभरका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ। आइतबार बिहान करिब ४ बजेदेखि नदीको बहाव बढेको आवाज सुनिएसँगै आसपासका जिल्लाहरूमा त्रास फैलिएको छ।
महाशाखाका अनुसार हाललाई रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदी किनारका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले अँध्यारोका कारण बाढीको वास्तविक स्वरूप थाहा नभए पनि आवाज ठूलो आएको बताए। उनले धादिङ, नुवाकोट, मन्त्रालय र प्राधिकरणसम्म खबर गरिसकिएको र तल्लो तटिय क्षेत्रमा प्रभाव पर्न सक्ने बताए।
‘बाढीको ठूलो आवाज आएको छ। बेलुकीको समय भएकाले हेर्न सक्ने अवस्था छैन। रसुवाको तटीय क्षेत्र सखाप भइसकेको थियो। तर मैले धादिङ, नुवाकोट, मन्त्रालय र प्राधिकरणसम्म खबर गरेको छु,’ उनले भने, ‘तल्लो तटिय क्षेत्रमा प्रभाव पर्न सक्छ। एक घण्टादेखि निरन्तर आवाज छ। अस्ती छोटो समयमा घटेको भए पनि आज निरन्तर आवाज आइरहेको छ।’
उनले अघिल्लो पटक बाढी आएकै बाटोबाट पुनः बाढी आएकाले यसको गति अझ तीव्र हुनसक्ने अनुमान व्यक्त गरे। त्रिशूलीमा उद्धार तथा राहत कार्यमा खटिएका नेपालका विमल बस्नेतले पनि ठूलो बाढी आएकाले आफूहरू सुरक्षित स्थानमा सरेको बताए। ‘हामी उद्धारका लागि त्रिशूली पारी आएका थियौं। ठूलो बाढी आएकाले भागाभाग अवस्था छ। अस्तीको भन्दा ठूलो आयो भनेका छन्। हामी अहिले डाँडामा आएर बसेका छौं। धैरे मानिसहरू भागाभाग छन्,’ उनले भने।
यसैबीच, रसुवा प्रशासनबाट बाढीको सूचना प्राप्त भएपछि चितवन र काठमाडौंको नागढुंगामा सवारीसाधन रोकिएका छन्। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी डिल्लीनारायण पाण्डेले बिहान साढे ४ बजेदेखि नै सवारीसाधन रोक्नुपरेको जानकारी दिए। ‘रसुवाबाट बाढी आएको सूचना छ। साढे ४ बजेदेखि चितवन र नागढुंगामा गाडी रोकिएका छन्। तल्लो तटिए क्षेत्रमा हाइअलर्टमा रहन आग्रह,’ उनले भने।
