NM Khabar 30 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

त्रिशूली-३ ‘ए’ सुरुङ: उद्धार टोली माथिल्लो भागमा, अक्सिजन पठाइयो

त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धार कार्य अन्तिम चरणमा पुगेको छ। उद्धार टोली सुरुङको माथिल्लो भागमा पुगेर अक्सिजन पठाउन सुरु गरेको छ। प्रतिकूल मौसम र बाढीका बाबजुद रातभरि उद्धार कार्य जारी छ।
Sanjay Karki
Sanjay Karki
30 August 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
त्रिशूली ३ ए उद्धार
Share:

त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारमा खटिएको टोली सुरुङको माथिल्लो भागमा पुगेको छ। टोलीले माथिल्लो भागबाट अक्सिजन पठाउन सुरु गरेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

गृहमन्त्री सुधन गुरुङका अनुसार सुरुङभित्र हावा पठाउन थालिएपछि खन्ने कामलाई गति दिइएको छ। उद्धार टोली आजै सुरुङभित्र पस्ने तयारीमा छ। ‘हामीले सानो प्वालबाट भित्र हावा पठाउन सुरु गरेका छौं,’ गुरुङले भने, ‘अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौं।’

प्रतिकूल मौसम र रातको अँध्यारोबीच बाढीका कारण सुरुङमा फसेका व्यक्तिको उद्धार प्रयास जारी छ। नेपाली सेनासहितको टोली रातभर घटनास्थलमा खटिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

रातको अँध्यारो र प्रतिकूल मौसमका कारण जोखिम कम गर्न घटनास्थलमा उच्च क्षमताका फ्लडलाइट जडान गरिएको छ। फ्लडलाइटको उज्यालोमा उद्धार तथा खोजी कार्य निरन्तर भइरहेको छ।

स्थलगत रूपमा थुप्रिएको पहिरो र माटो पन्छाउन जेसीबीसहितका एक्स्काभेटर परिचालन गरिएको छ। एक्स्काभेटरले बाटो खोल्ने तथा पुरिएका सम्भावित स्थानसम्म पुग्ने प्रयास भइरहेको छ।

उद्धार टोलीले ‘सर्च क्यामेरा’ र मोनिटर प्रयोग गरी सुरुङभित्र सूक्ष्म खोजी गरिरहेको छ। प्राविधिक टोलीहरू आपत्कालीन उद्धार उपकरण र प्राथमिक उपचार सामग्रीसहित घटनास्थलमा खटिएका छन्। विभिन्न टोलीबीच समन्वय गर्दै उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार