पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिँदा काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी नदीको बाढीले सडकको तल्लो भाग कटान गर्दा यो अवरोध उत्पन्न भएको बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले Nmkhabarलाई पुष्टि गरे।
शनिबार बिहान केहीबेर खुलेको सडक पुनः पूर्ण रूपमा बन्द भएको छ।
भोटेकोशी नदीको बाढीको बहाव चितवन आइपुग्दा भने घटेको छ। बिहान ७ बजेतिर मुग्लिन पुगेको बाढीको बहाव अहिले कम भएको छ।
बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव सामान्य अवस्थाभन्दा तीनदेखि तीन दशमलव पाँच मिटर बढेको छ। नारायणी नदीमा मिसिएपछि बहाव दुईदेखि दुई दशमलव पाँच मिटर थप बढ्ने अनुमान छ।
देवघाटमापन केन्द्रमा बाढी आउनुपूर्व छ मिटर रहेको बहाव नौ मिटर पुगे खतरा मानिने भए पनि हाल त्यो अवस्था नरहेको कर्मचार्यले बताए।
यद्यपि, नदीको सतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले सडक भासिएपछि चितवनतर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने सवारीसाधनलाई सुरक्षित स्थानमा रोकी ट्राफिक व्यवस्थापन गरिएको जानकारी दिए।
