कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलालाई रसुवाको बाढी प्रभावित क्षेत्रमा काज सरुवा गरिएपछि मन्त्री विदुरकुमार लिङ्थेपले संघीय सरकारको निर्णयको आलोचना गरेका छन्। सचिव निरौलाले सामाजिक सञ्जालमा शव व्यवस्थापनबारे दिएको ‘फोकटको सल्लाह’लाई संघीय सरकारले ‘इगो’ बनाएर प्रतिशोध साँधेको मन्त्री लिङ्थेपको आरोप छ।
मन्त्री लिङ्थेपले यो सरुवा स्वाभाविक नभएको र यसको भित्री मनसाय फरक रहेको बताए। उनले सहसचिव तहको अनुभवी कर्मचारीले फेसबुकमा सामान्य मानवीय धारणा राख्दा त्यसलाई हतोत्साहित गर्ने गरी पत्र काटिएको जिकिर गरे।
सचिव निरौलाले कोभिडकालको अनुभव सुनाउँदै लासको पनि अधिकार हुने, संस्कार अनुसार सदगत् गर्न पाउनुपर्ने र त्यसका लागि फ्रिज वा मर्चरीको व्यवस्था हुनुपर्ने जस्ता कुरा फेसबुकमा लेखेका थिए। मन्त्री लिङ्थेपले यसलाई सकारात्मक र मानवीय कुरा भएको तर संघीय सरकारले यसलाई ‘इगो’ बनाएर ‘तँलाई धेरै आउँछ भने जा आफैँ व्यवस्थापन गर’ भन्ने शैलीमा प्रतिशोध साँधेको आरोप लगाए।
उनले एउटा सहसचिवलाई स्रोत–साधन र टिमबिना एक्लै पठाउनु ‘हरुवा चरुवालाई गरेजस्तो व्यवहार’ भएको टिप्पणी गरे। संघीय सरकारले क्याबिनेटबाट निर्णय गरेर, अनुभवी टिम, आवश्यक बजेट र स्रोत–साधनसहित पठाउनुपर्नेमा एक्लै पठाएर कर्मचारीलाई दुःख दिने नियत देखिएको उनको भनाइ छ।
सचिव निरौलाले पदीय मर्यादाविपरीत सामाजिक सञ्जालमा लेखेको ठीक थिएन भन्ने प्रश्नमा मन्त्री लिङ्थेपले उनले लेखेको कुरामा नकारात्मक नभएको र लासलाई अन्याय नगरौँ, डीएनए परीक्षण गरौँ, आफन्तले चिन्न सक्ने वातावरण बनाऔँ भन्ने मानवीय संवेदनाको कुरा गरेको बताए। फरक बुझाइ हुन सक्ने भए पनि पीडित परिवारको भावनामा चोट नपुगोस् भन्ने नै उनको आशय रहेको मन्त्रीले स्पष्ट पारे।
सचिव निरौला भोलि (मंगलबार) तिर रसुवा निस्कने कुरा छ। तर, उनलाई संघले रसुवा खटाए पनि तलबचाहिँ कोशी प्रदेशकै मन्त्रालयले खुवाउनुपर्ने भनिएको छ। यस्तो प्रशासनिक निर्णय कस्तो हो भन्दै मन्त्रीले प्रश्न उठाए। साथै, उनलाई के के काम गर्ने, कसरी गर्ने, अधिकार के हुने भन्ने कुनै टीओआर (Terms of Reference) पनि नदिइएको उनले बताए।
मन्त्री लिङ्थेपले यो सरुवाले संघीयताको मर्म र प्रशासनिक मर्यादालाई गिज्याएको बताए। अनुभवीको सुझावलाई नीति नबनाई सजाय दिनु दुःखद भएको उनको भनाइ छ। यस्ता घटनाले कर्मचारीलाई सत्य नबोल्न र सुझाव नदिन डर देखाउन खोजिएको तर यो महाविपद्को घडीमा सबै एकजुट हुनुपर्ने र सरकारले इगोमा अल्झिनु नहुनेमा उनले जोड दिए।
