जनकपुरधाम, भदौ १४। अन्तर्राष्ट्रिय बेपत्ता पारिएका पीडितहरूको दिवस–२०२६ को अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामले जनकपुरधामस्थित जनकचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामका अध्यक्ष मनिष श्रीओमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनी केबट प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमका अध्यक्ष श्रीओमले बेपत्ता पारिएका व्यक्तिका बारेमा सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय तथा परिपूरण सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए।
उनले भदौ १० गते त्रिशूलीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको शीघ्र खोजी र घाइतेहरूको प्रभावकारी उपचारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। बाढीमा ज्यान गुमाउनेहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरे।
प्रमुख अतिथि केबटले बेपत्ता व्यक्तिको खोजी र पीडित परिवारलाई न्याय दिलाउन निरन्तर पहल आवश्यक रहेको बताउँदै कार्यक्रम आयोजना गरेकोमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामलाई धन्यवाद दिए।
कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका कमल साह, डा. सुशील कुमार यादव, फूलकुमारी, सञ्जय प्रसाद साह, रामबहादुर साह, अम्बिका प्रसाद कर्ण, शिवशंकर मिश्र, उदय यादव र जमुना भुजेल लगायतको सहभागिता थियो।
यसैगरी, विभिन्न मानवअधिकारवादी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए। उज्यालो नेपालका अमित कुमार मिश्र, WHR की सुभद्रा आले, Green Space Nepal का धीरज साह, महिला विकास सेवा केन्द्रका नैनो ठाकुर, पहिचान नेपालकी नगमा खान, सुनौलो विहानीका छोटु साह, इन्सेकका राजु पासवान, मुक्ती नेपालका विनोद महरा, आफन्त नेपालकी अमृता कुमारी घिमिरे, एडभोकेसी फोरमका राजकुमार महाशेठ र राष्ट्रिय आवाजको मोनु गुप्ता, राम युवा कमिटीको रामबाबु साह लगायतको उपस्थिति थियो।
सहभागी प्रतिनिधिहरूले बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र परिपूरण उपलब्ध गराउन तथा मानवअधिकार संरक्षणमा राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरे।
दीप प्रज्वलनमार्फत बेपत्ता पारिएका व्यक्तिको स्मरण, पीडित परिवारप्रति ऐक्यबद्धता र त्रिशूली बाढीमा बेपत्ता भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। कार्यक्रमले सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्दै बेपत्ता व्यक्तिको शीघ्र खोजी र पीडित परिवारको न्यायका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्यो।
